अर्थतन्त्र सुधार गर्न सबै मिल्नु पर्छ : अर्थमन्त्री डा. महत
वि.सं.२०८० वैशाख १३ बुधवार १७:३७
shares

काठमाडौं, १३ वैशाख । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको आर्थिक संटकबाट पार पाउनका लागि सबै मिलेर काम गर्नु पर्ने बताएका छन् । बुधबार राष्ट्रि सभामा पेस भएको वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्तावमा उठेका प्रश्नको उत्तर दिदै अर्थमन्त्रीले यस्तो बताएका हुन् ।
‘अहिलेको संकटबाट पार पाउनका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अहिलेका समस्या र चुनौती समाधान गर्नु पर्छ,’ उनले भने । अर्थतन्त्रमा कसरी समस्या देखियो र समाधानका उपायहरूको विषयमा अनुसन्धान गरी सबै पक्ष मिलेर सुधार गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । अर्थतन्त्र सुधारका लागि सबै मिलेर समाधान गर्ने विषयमा उच्च नेतृत्व तहमा छलफल भइरहेको पनि उनले जानकारी दिए ।
अर्थमन्त्री महतले सदनमा सांसदहरूले भनेकोजस्तो अर्थतन्त्र कहालीलाग्दो अवस्थामा नभएको भन्दै सरकार अर्थतन्त्र सुधारोन्मुख गराउनसक्ने अवस्थामा रहेको बताएका थिए । उनले अर्थतन्त्रमा समस्याका चाङ रहेको स्वीकार्दै समस्या समाधान गर्न केही समय लाग्ने उल्लेख गरे । ‘अर्थतन्त्रमा देखिएको शिथिलतालाई चलायमान बनाउन आज बोलेर तत्काल चमत्कार हुने विषय होइन,’ उनले भने ।
अर्थमन्त्री महतले आफू अर्थमन्त्री भएर आएको एक महिना भएको भन्दै तत्काल अर्थतन्त्रका सबै समस्या समाधान गर्छु भन्न नसक्ने बताए । उनले सबैको सहयोगमा सकेसम्म अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सम्पूर्ण ध्यान केन्द्रित हुने प्रतिबद्धता पनि व्यक्त गरे ।



















