Dhulikhel Eco Banner new

करिब २५ प्रतिशतले घट्यो शिवम् सिमेन्टको बिक्री आम्दानी

5.04K
shares

काठमाडौं, २९ वैशाख । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा शिवम् सिमेन्टको बिक्री आम्दानीमा करिब २५ प्रतिशतले गिरावट आएको छ । शिवम् सिमेन्ट्सले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बिक्री आम्दानी २४.७५ प्रतिशतले घटेको हो ।

कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा ५ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ । जबकी कम्पनीले गत वर्ष ७ अर्ब २५ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको थियो । बिक्री आम्दानी सँगै कम्पनीको नाफामा पनि गिरावट आएको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५१.१५ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६५ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३१ करोड ९९ लाख रुपैयाँ मात्र नाफा कमाएको छ ।

बिक्री आम्दानी घटेको र उत्पादन लागत बढेका कारण खुद नाफा घट्न पुगेको हो । महंगो बैंक ब्याजदर, तरलताको संकुचन, विश्व् बजारमा कोईला, डिजेल लगायतका सामानहरुको अत्याधिक मूल्य वृद्धिको प्रभाव, तेस्रो त्रैमासिक अवधिभर नेपाल विद्युत प्राधिकरणले उद्योगमा अघोषित लोडसेडिङ्ग गरेका कारण वैकल्पिक उर्जाको प्रयोगबाट उद्योग सञ्चालन गर्दा उत्पादन लागत बढ्न पुगेको कम्पनीले जनाएको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १० रुपैयाँ १५ पैसा घटेर ९ रुपैयाँ ६९ पैसा झरेको छ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.७९ गुणा रहेको छ ।