Dhulikhel Eco Banner new

नेपाल दूरसञ्चार कम्पनीले कमायो ५ अर्ब बढी नाफा

5.95K
shares

काठमाडौं, ३० वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा ५ अर्बभन्दा बढी नाफा कमाएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा कमाएको हो ।

चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा गरेको नाफा गत वर्षको सोही अवधिको तुलनामा भने कही मात्रामा कम हो । गत आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले ५ अर्ब ४३ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्षको भन्दा चालू आर्थिक वर्षको ९ महिनामा कम्पनीको नाफा ०.४३ प्रतिशतले घटेको हो ।

कम्पनीको बिक्री आम्दानी घटे पनि अन्य आम्दानी बढेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २७ अर्ब ३४ करोड ६६ लाख रुपैयाँ ग्राहकबाट आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.०९ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी २८ अर्ब २१ करोड ९६ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ३५.७८ प्रतिशत बढेको छ भने कुल आम्दानी २.०६ प्रतिशत बढेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १७ पैसा घटेर ४० रुपैयाँ ९ पैसामा सीमित भएको छ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५१९ रुपैयाँ ३० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.४ गुणा रहेको छ ।