१२ करोडको सिमा हटाउन प्रधानमन्त्री समक्ष लगानीकर्ताको माग
वि.सं.२०८० जेठ ३ बुधवार १६:४५
shares

काठमाडौं, ३ जेठ । शेयर लगानीकर्ताहरुले १२ करोड सम्मको शेयर कर्जाको सिमा हटाउनका लागि प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् । शेयर लगानीकर्ताहरुले पुँजी बजार सुधारको लागि भन्दै प्रधामन्त्री पुष्पकमल दाहाललाई ६ बुँदे माग पेश गर्दै १२ करोडका सिमा हटाउनका आग्रह गरेका हुन् ।
लगानीकर्ताहरुले खुल्ला रूपमा नयाँ ब्रोकर लाईसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ति कार्यान्वयन गर्न पनि माग गरेका छन् । त्यस्तै शेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई पनि १०० प्रतिशत नै कायम गर्न अनुरोध गरिएको छ ।
लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन लगानीकर्ताको रूपमा विभाजन गरी सोहि अनुरूप अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था गर्न अनुरोध गरेका छन् । यस्तै लगानीकर्ताले विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गर्न अनुरोध गरेका छन् ।



















