असारपछि बैंकको ब्याजदर घट्दै जान्छ : अध्यक्ष केसी
वि.सं.२०८० जेठ ८ सोमवार १७:४८
shares
बैंकर्स संघका अध्यक्ष सुनिल केसी
काठमाडौं, ८ जेठ । नेपाल बैंकर्स संघ (एनबीए) का अध्यक्ष सुनिल केसीले बैंकको ब्याजदर क्रमशः घट्दै जाने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष केसीले असार पछि अवस्था विस्तारै सुधार हुँदै जाने बताएका हुन् ।
पछिल्लो समय बैंकहरुको आधारदर घटेको भन्दै यसले ब्याज पनि घट्ने उनको भनाइ थियो । ‘पुसमा १०.९१ प्रतिशत रहेको आधार दर वैशाखमा १०.४८ प्रतिशतमा झरेको छ । जसले गर्दा माघमा यो वर्षकै उच्च बिन्दु १३.०३ प्रतिशत पुगेको वाणिज्य बैंकको औसत कर्जाको ब्याजदर वैशाखमा १२.८४ प्रतिशतमा झरेको छ,’ उनले भने । स्प्रेड दर ४ प्रतिशत कायम गर्नुपर्ने भएकाले पनि असारपछि ब्याजदर थप घट्ने उनको भनाइ थियो ।
हाल ४.४ प्रतिशत रहेको निक्षेप र कर्जाको औसत ब्याजदर अन्तर असारदेखि ४ प्रतिशत कायम गर्नुपर्नेछ । स्प्रेड दर राष्ट्र बैंकले निर्धारण गरेको सीमाभित्र राख्न बैंकले ब्याजदर थप घटाउने केसीले बताए ।



















