मधेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ३५ अर्बको बजेट ल्याउने तयारी
वि.सं.२०८० जेठ २९ सोमवार १७:३३
shares

काठमाडौं, २९ जेठ । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ३५ अर्ब बराबरको बजेट ल्याउने तयारीमा जुटेको छ ।
अर्थ मन्त्रालयका सचिव प्रेम प्रसाद भट्टराईले सरकारले आगामी आर्थिक वर्षका लागि सो रकम बराबरको बजेट ल्याउने तयारी गरेको जानकारी दिएका हुन् ।
प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेश सरकारले बजेट ल्याउने तयारी गरेको उनले जानकारी दिए ।
उनले चालू आर्थिक वर्षभन्दा आगामी वर्षमा बजेटको आकार घटेर आउने जानकारी दिए । सचिव भट्टराईले प्रदेश सरकारको २० अर्ब र संघीय सरकारले दिने १५ अर्ब गरी कूल ३५ अर्बको बजेट ल्याउने तयारी भइरहेको बताए ।
अधिकांश मन्त्रालयको बजेट निर्माण अन्तिम चरणमा रहेको र संघ सरकारले आगामी आर्थिक वर्षका लागि २२ प्रतिशत बजेट कटौती गरी पठाएकाले बजेटको आकार घट्ने उनले जानकारी दिए । गत मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभामा १८९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सरकारको नीति तथा कार्यक्रममाथि तीनदिन संसदमा छलफल भई गत शुक्रबार सर्वसम्मतिले पारित भइसकेको छ ।
मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको जेट ल्याएको थियो । त्यस्तै, २०७७/७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार र २०७८र७९ मा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको थियो । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/८० मा ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याएको थियो ।















