भन्सार नियमावलीमा संशोधन, अब धरौटी नबुझाई एक्जिम कोड पाउने
वि.सं.२०८२ असार २३ सोमवार १५:५५
shares

काठमाडौं, २३ असार । सरकारले भन्सार नियमावली सोह्रौं पटक संशोधन गर्दै एक्जिम कोड प्राप्त गर्नुपर्ने शर्तस्वरूप राखिएको तीन लाख रुपैयाँ बराबरको जमानत व्यवस्था हटाएको छ। यस संशोधनसँगै पहिलेबाट जमानत राखेका पैठारीकर्ताको बैंक जमानत फुकुवा हुने भएको छ।
भन्सार विभागले हालै वाणिज्य बैंकहरूलाई पत्र पठाउँदै एक्जिम कोड लिन राखिएको तीन लाख रुपैयाँ बराबरको जमानत फुकुवा गरिदिन निर्देशन दिएको छ। विभागको पत्रलाई कार्यान्वयन गर्न सहजीकरणका लागि राष्ट्र बैंकसम्म पत्राचार गरिएको छ।
उक्त निर्णय बजेट वक्तव्यमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक्जिम कोडका लागि राखिनुपर्ने धरौटी हटाउने घोषणा गरेअनुसार गरिएको हो। सोही आधारमा भन्सार नियमावली संशोधन गरी कार्यान्वयनमा ल्याइएको हो।
भन्सार विभागका अनुसार हालसम्म १५ हजारभन्दा बढी एक्जिम कोड जारी भइसकेका छन्। एक्जिम कोड अन्तर्राष्ट्रिय व्यापारका लागि आवश्यक अनुमति हो ।
नेपालले हाल १६१ देशसँग वैदेशिक व्यापार गरिरहेको छ, जसमध्ये ३७ देशसँग व्यापार नाफा र १२४ देशसँग व्यापार घाटाको अवस्था रहेको छ। भन्सार विभागका तथ्यांक अनुसार अफगानिस्तानसँग नेपालले सबैभन्दा धेरै व्यापार नाफा कमाएको छ भने भारतसँग सबैभन्दा धेरै व्यापार घाटा व्यहोरेको छ।
चालु आर्थिक वर्षको ११ महिनासम्म अर्थात् जेठ मसान्तसम्म अफगानिस्तानबाट चार करोड २५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ७४ करोड १८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरिएको छ। यस्तै, डेनमार्क, रसिया, रोमानिया, लाओस, आइसल्याण्ड, माल्दिभ्स, यमन, क्रोएसिया, माल्टा लगायतका ३७ मुलुकसँग पनि नेपालले व्यापार नाफा कमाएको छ।



















