Dhulikhel Eco Banner new

जनकपुरधामका जनप्रतिनिधि र कर्मचारीले हप्तामा एक दिन साइकल चढ्ने

4.72K
shares

काठमाडौं, २५ असार । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले हप्तामा एक दिन साईक चेड्ने भएका छन् । महानगरपालिकाले इन्धनको खपत घटाउनका लागि हरेक हप्ताका शुक्रबार सबै जनप्रतिनिधि र कर्मचारीले साइकल चढ्नु पर्ने भएको हो ।

उपमहानगरपालिकाका उप–मेयर किशोरी साहले यो निर्णय आगामी साउन महिनादेखि कार्यान्वयनमा आउने बताए । उपमहानगरपालिकाको नगर सभाले यस्तो निर्णय गरेको उनले जानकारी दिए । ‘साउन महिनादेखि प्रत्येक शुक्रबार मेयर, उप– मेयरदेखि सबै जनप्रतिनिधि र कर्मचारी कुनै कामका लागि कार्यालय आए साइकलमै आउनुपर्छ’ उनले भने ।

पेट्रोलियम पदार्थको खपत घटाउन, पर्यावरणलाई सफा राख्न र शरीरका लागि पनि राम्रो हुने भएकाले हप्ताको एक दिन साइकल चढ्ने निर्णय भएको बताए । प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न प्रसाद उपाध्यायले शुक्रबार नै आफ्नो कोठाबाट साइकल चढेर कार्यालयसम्म पुगेका छन् । उनले उपमहानगरपालिकाको नीति अनुरुप आफू कार्यालयसम्म साइकलमै पुगेको बताए । उनले प्रत्येक शुक्रबार साइकल चलाउन सबै जनकपुरबासीलाई समेत आग्रह गरेका छन् ।