सीपीपीका नेता लिउ जियानचाओ काठमाडौंमा
वि.सं.२०७९ असार २६ आइतवार १४:०९
shares

काठमाडौं, २६ असार । नेपालको चार दिने भ्रमणमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आइतबार साढे १० बजे काठमाडौं आइपुगेका छन् ।
आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आएका लिउले आइतबार बेलुकी करिब ४ बजे परराष्ट्रमन्त्री नारायण खड्कालाई सिंहदरबार र त्यसपछि बेलुकी साढे ६ बजे कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर भेटवार्ता गर्ने छन् ।
लिउ त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट द्वारिकाज होटलमा गएका छन् । त्यहाँ आराम गरेर बेलुकीबाट उनले भ्रमणको सुरुवात गर्ने कूटनीतिक स्रोतले बतायो ।
परराष्ट्र स्रोतका अनुसार लिउको सम्मानमा परराष्ट्रमन्त्री खड्काले आइतबार साँझ मेरियट होटलमा रात्रिभोजको आयोजना समेत गरेका छन् । चीनको विदेश नीति र सम्बन्धमा सीपीसी विदेश विभागले महत्त्वपूर्ण भूमिका राख्छ । त्यसको कारणले पनि लिउको भ्रमणलाई प्राथमिकताका साथ हेरिएको छ ।
नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गरेपछि चीनबाट हुन लागेको यो दोस्रो उच्च तहको भ्रमण हो । गत चैतको दोस्रो साता चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गरेका थिए ।
नेपालले अमेरिकी कार्यक्रम स्टेट पार्नटनरसिप प्रोग्राम (एसपीपी) अस्विकार गरेपछि भने चिनियाँ पक्षको पहिलो भ्रमण हो ।नेपालका कम्युनिस्ट पार्टीहरूलाई प्राथमिकता दिँदै आएको उत्तरी छिमेकी चीनले नेपाली कांग्रेससँग पनि सम्बन्ध विस्तार गर्न खोजेको छ । पहिलो दिन कांग्रेसका नेता र प्रधानमन्त्रीलाई भेटेपछि लिउले दोस्रो दिनबाट राष्ट्रपति विद्यादेवी भण्डारी र अन्य कम्युनिष्ट नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।















