दीगो पूर्वाधार निर्माणका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा
वि.सं.२०७९ भदौ २९ बुधवार १५:२१
shares

काठमाडौं, २९ भदौ । प्रधानमन्त्री शेर बहादुर देउवाले सरकार दीगो विकासका लागि पूर्वाधार निर्माणका लागि प्रतिवद्ध रहेको बताएका छन् । लगानी बोर्ड नेपालले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरममा प्रधानमन्त्री देउावाले हरित र दीगो पूर्वाधार निर्माणका लागि सरकार प्रतिवद्ध भएको भन्दै सरकारका सीमित स्रोतहरु आधुनिक र हरित पूर्वाधार निर्माणमा खर्च गरिरहेको बताए बताएका हुन् ।
सरकाले १५ औँ योजनामा पनि दीगो हरित पूर्वाधार निर्माणमा खर्च गर्ने योजना बनाएको भन्दै अर्थतन्त्रको संरचनात्मक सुधारका लागि स्वदेशी, विदेशी र सरकारको तर्फबाट थप लगानी गर्न आवश्यक रहेको उनको भनाइ छ । यस्तो कार्यले नेपाललाई अल्पविकसित देशको सूचीबाट माथि पुग्नका लागि पनि सहयोग पुग्ने प्रधानमन्त्री देउवाको विश्वास थियो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले लगानी बोर्डको वेबमा आधारित एकल बिन्दु सेवाको समेत शुभारम्भ गरेका छन् । नेपालमा लगानी गर्न खोज्ने लगानीकर्तालाई अनलाइन माध्यमबाट सेवा प्रदान गर्न वेबमा आधारित एकल बिन्दु सेवाको सुरुवात गरिएको लगानी बोर्डले जनाएको छ ।
कार्यक्रममा बोल्दै अरुण तेस्रो जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत अरुण धिमालले नेपालमा लगानीको वातावरणमा सुधार हुँदै गएको बताए । ‘सन् २०२३÷२४ सम्ममा निर्माण सम्पन्न गर्ने गरी हामीले काम गरिरेहका छौँ । यो निर्यातउन्मुख परियोजना हो, सार्वनजिक निजी साझेदारीमा निर्माण भइरहेको यो निकै महत्वपूर्ण परियोजना हो,’ उनले भने ।
त्यस्तै अपर त्रिशुली जलविद्युत् परियोजनाका प्रमुख कार्यकारी अधिकृत हे उङ काङले पनि नेपालका सरकारी निकायले अपेक्षाकृत सहजीकरण गरिरहेको बताए । नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले पनि पछिल्लो समय सरकारले गरेको नीतिगत सुधार सकारात्मक भएकाले नेपालमा विदेशी लगानी बढ्ने सम्भावना भएको बताइन् ।
कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले बोर्डले केही ठूला परियोजनामा लगानीका लागि सम्झौता गर्न लागेको जानकारी दिए । ‘सात प्रदेशमा ७ नमुना परियोजनमा लगानी ल्याउने गरि लगाानी बोर्डले काम गरिरहेको छ,’ भट्टले भने ।
विश्व बैंककी प्रबन्ध निर्देशक मरी प्यानगेस्तु अनलाईन माध्यमबाट सम्बोधन गर्दै हरित पूर्वाधार र दीगो पूर्वाधार निर्माण गर्न प्रतिवद्धता जनाउने नेपाल संसारकै पहिलो देश भएको बताइन् । कार्यक्रममा लगानी बोर्डका सहसचिव तथा प्रवक्ता अमृत लम्सासले सम्भावित लगानीकर्तालाई विभिन्न परियोजना र नेपालको लगानी वातावरणका विषयमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए ।
तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको पहलमा सन् २०१२ मा ठूला पूर्वाधार र परियोजनामा लागि नेपाल आउने लगानीलाई सहजीकरण गर्न लगानी बोर्ड नेपाल स्थापना गरिएको थियो ।



















