Dhulikhel Eco Banner new

अन्नपूर्ण पोष्टले कपोकल्पित र भ्रमपूर्ण समाचार लेख्यो : अर्थमन्त्रालय

11.71K
shares

काठमाडौं, ३० जेठ । अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित कपोकल्पित र भ्रमपूर्ण समाचार प्रकाशन गरेको भन्दै अर्थमन्त्रालय गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले मध्यराति बजेटमा जब चुकुल लाग्यो’ शिर्षको समाचारको मन्त्रालयले खण्डन गरेको हो ।

आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट भाषण हुने अघिल्लो रातमा मन्त्री शर्माले एक पूर्वनासुलाई मन्त्रालयमा घुसाएर करको दर हेरफेर गराएको समाचारमा समाचारमा उल्लेख गरिएको थियो ।
बजेट निर्माणका लागि गठित टिमलाई समेत जिल्याउँदै पूर्वनासु रघुनाथ घिमिरेले निश्चित व्यापारिक घरानालाई फाइदा पुग्ने गरी बजेट चलाएको दाबी समाचारमा गरिएको छ ।

विज्ञप्तिमा जनाइए अनुसार अर्थ मन्त्रालयले २०७८ चैत्र १ गते देखि नै औपचारिक रुपमा बजेट तथा कार्यक्रमका बिषयमा क्षेत्रगत छलफल, बिज्ञहरु तथा अन्य सरोकारवाला निकायसँग परामर्श÷अन्तरक्रिया प्रारम्भ गरेको, मन्त्रालयका सहसचिवको नेतृत्वमा बजेट मस्यौंदा समिति गठन गरेको तथा सर्वसाधारणको प्रतिक्रिया, सुझावहरु संकलनका लागि मन्त्रालयमा ११३८ को निःशुल्क टोल फ्रि नं. व्यवस्थासहित आर्थिक वर्ष २०७९/८० को बजेट सम्वन्धी राय सुझाव संकलन कक्ष समेत स्थापना गरी बजेट निर्माणको कार्यलाई विगत बर्षहरु भन्दा फरक तवरबाट बढी जनअपनत्व बनाउने गरी माननीय अर्थ मन्त्रीको नेतृत्वमा मन्त्रालयको सम्पूर्ण टिम औपचारिक रुपमा बजेट लेखन र निर्माणमा निरन्तर खटेको जनाइएको छ ।

आर्थिक वर्ष २०७९÷८० को बजेट तर्जुमाका क्रममा (१–१४ जेठ,२०७९) माननीय अर्थ मन्त्री सामान्यतः सूचीकृत दैनिक औपचारिक कार्यक्रम बाहेक हरेक दिन बिहान ७ः३० बजे मन्त्रालय आउने र राती अबेरसम्म रही बजेटलाई पूर्णता दिन मन्त्रालयका अधिकारीहरुसँग निरन्तर छलफल गर्ने कार्यमा खट्नुभएको थियो ।

सोही क्रममा बजेटलाई अन्तिम रुप दिने सन्दर्भमा १४ जेठ, २०७९ मा समेत बिहानैदेखि मन्त्रालयमा माननीय अर्थ मन्त्रीको नेतृत्वमा सचिव, सचिव (राजस्व) र मन्त्रालयका सम्वन्धित महाशाखा प्रमुखहरु तथा भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक समेतको सहभागितामा विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक लगायतका बजेटसंग सम्वन्धित विषयहरु तयारी भएको र यस प्रक्रियामा तोकिएका जिम्मेवार पदाधिकारीहरु बाहेक अरु कसैको सहभागिता नरहेको सबैमा जानकारी गराउँदछौं ।

आर्थिक ऐनमार्फत राजस्व संकलन गर्ने, करका दर परिवर्तन गर्ने तथा राजस्व प्रशासन सम्बन्धी प्रचलित कानूनलाई संशोधन गर्ने सम्वन्धमा मन्त्रालयमा रहेको अधिकारको परिधि भित्र रहेर निजी, सरकारी तथा गैरसरकारी क्षेत्रलगायत विभिन्न विज्ञहरुको राय सुझावका आधारमा अर्थ मन्त्रालयले करका दरहरु प्रस्ताव गर्ने प्रचलित अभ्यास रहेको छ ।

परम्परागत अर्थतन्त्रलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितिकरणबाट समावेशीतातर्फ प्रस्थानसहितको जनप्रिय बजेट सार्वजनिक भएको विज्ञप्तिमा जनाइएको छ । मुलुकको अर्थतन्त्रको विकास र सुधारका बिषयमा निरन्तर क्रियाशिल रहेका अर्थ मन्त्रीका बारेमा भ्रम सृजना हुने गरी तथ्य र तर्कभन्दा टाढा रही कपोलकल्पित र भ्रमपूर्ण बिषय राखी समाचार प्रकाशित हुनु खेदजनक रहेको मन्त्रालका सह सचिव तथा प्रवक्ता भुपाल बराले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पत्रकारिताको सामान्य मान्यतालाई समेत ख्याल नराखेर समाचार प्रशास गरिएको विज्ञप्तिमा जनाइएको छ । सन्तुलित, तथ्यपूर्ण र विश्वसनीय समाचारका लागि सम्बन्धित पक्षको आधिकारिक भनाइ राख्नुपर्ने पत्रकारिताको सामान्य सिद्धान्तलाई समेत विचार नगरी प्रकाशित यस्ता समाचारले समाजमा भ्रम पैदा गर्ने र पत्रकारिताको विश्वसनीयतामा समेत ह्रास आउने जनाइएको छ । विज्ञप्ति मार्फत मन्त्रालयले वास्तविकता र तथ्य बुझेर मात्रै समाचार प्रकाशन गर्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।