Dhulikhel Eco Banner new

राप्ती हाइड्रोपावरको आईपीओ बाँडफाँट

6.97K
shares

काठमाडौं, ९ साउन । राप्ती हाइड्रोपावर एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर बाँडफाँट गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय, नक्सालमा सोमबार आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओ असार २९ गतेदेखि साउन १ गतेसम्म निष्काशन तथा बिक्री खुला गरिएको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ता शेयर मात्रै सर्वसाधारणको लागि बाँडफाँट गरिएको हो ।

स्वीकृत आवेदनमध्ये भाग्यमानी २ लाख १७ हजार ६९४ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर बाँडफाँट गरिएको हो ।