‘धितोपत्र बोर्ड र नेप्से स्वायत्त बन्नुपर्छ’
वि.सं.२०७९ भदौ १४ मंगलवार १०:१७
shares

काठमाडौं, १४ भदौ । पुँजी बजारको विकास र विस्तारका गर्नका लागि नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) स्वायत्त हुनु पर्ने धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले बताएका छन् । नेपाल आर्थिक पत्रकर समाज (सेजन) ले आयोजना गरेको ‘पुँजीबजारको विकास सम्बन्धी नीतिगत बहस’ कार्यक्रममा अध्यक्ष हमालले बोर्ड र नेप्से अर्थमन्त्रालयको विभागजस्तो मात्रै भएको भन्दै यो अवस्थामा पुँजी बजारको विकास सम्भवन नुहने भएका हुन् ।
अहिले यी दुई संस्थालाई स्वायत्त बनाउने विषयमा अर्थमन्त्रालसँग छलफल भइरहेको छ, शेयर बजारको विकास विस्तारका लागि धितोपत्र बोर्ड, नेप्से स्वायत्त हुनैपर्छ,’ उनले भने– ‘संसारका सबै नियामक निकाय स्वायत्त रहेका हुन्छन्, हामी स्वायत्त छैनाँै । हामी अर्थ मन्त्रालयको विभाग जस्ता रहेका छौँ ।’
स्वायत्त हुनु पर्ने निकाय मन्त्रालयको विभाग जस्तो भएर बस्ता बजारको विकास सम्भव नभएको उनको भनाइ छ । शेयर बजारमा अहिले नै कायपलट गर्छु भन्नरे सोच्नु दिवा सपना मात्रै भएको उनको तर्क थियो । अध्यक्ष हमालले अहिलेको बाध्यात्मक अवस्थामा पनि गर्नु पर्ने नियमित कामलाई तिब्रता दिइरहेको दाबी गरे ।
यसैबीच शेयर बजारको विकास र विस्तारका लागि प्रतिपस्र्धा आवश्यक रहेको पनि बताए । बजारमा एकाधिकार कायम हुन नहुने धारणा राखेका उनले स्वस्थ प्रतिस्पर्धा आवश्यक भएको धारणा व्यक्त गरे । साथै, अध्यक्ष हमालले पुँजी बजारलाई जुवाघर भन्नु गलत भएको बताएका छन् । उनले पुँजी बजारलाई जुवाघर भन्नु गलत भएको पनि बताए ।
कार्यक्रममा धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यले शेयर बजार विस्तार गर्न ब्रोकरको शाखा मात्रै विस्तार गरेर नपुग्ने र सँगसँगै वित्तीय साक्षरता पनि आवश्यक रहेको बताए । आचार्यले ब्रोकरले खोल्ने भनेको सब ब्रोकरको लागि बोर्डले निर्देशिका सशोधन गरिरहेको जानकारी गराए ।
कार्यक्रममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रबन्धक निरञ्जय फुँयालले मार्जिन कारोबारका लागि कार्यविधिले मात्रै नपुग्ने धितोपत्र बोर्डले वियमावली नै जारी गर्नुपर्ने बताए । फुँयालले मार्जिन कारोबारका लागि सोर्स अफ फण्डको समस्या रहेको, ब्रोकरले कर्जा दिँदा उनीहरुको खर्च पनि बढ्ने बताए । उनले मार्जिन कारोबार सुरु भएपछि मार्जिंन र ट्रेड्रिङ खाता फरक फरक हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष प्रियराज रेग्मीले मार्जिन कारोबार गर्नका लागि दुई वटा खाता खोल्न नेप्सेको सिस्टमले नदिएको गुनासो गरे । त्यस्तै ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले धितोपत्र बोर्डको अहिलेको ऐन कानुनले ब्रोकर कार्यालय उपत्यका बाहिर जान समस्या भएका बताए । बजार विकास विस्तारका लागि ब्रोकरको शाखा विस्तार हुनुपर्ने र त्यसो गर्दा ब्रोकरको खर्च बढ्ने उनको भनाइ छ ।
यस्तै कार्यक्रममा शेयर बजारका विज्ञ मनोज शाहीले ‘पुँजी बजारको भौगोलिक विस्तार’ सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले पुँजी बजार विकासका लागि उपयुक्त प्रविधि आवश्यक रहेको बताए ।



















