इष्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन
वि.सं.२०७९ असोज ३१ सोमवार ११:२०
shares

काठमाडौं, ३१ असोज । इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने भोलि अर्थात मंगलबार अन्तिम दिन रहेको छ ।
हाइड्रोपावरको आइपीओमा हालसम्ममा १ करोड ३ लाख ११ हजार २७० कित्ताका लागि आवेदन परेको छ । सिडिएस क्लियरिङ्गका अनुसार ९ लाख ४ हजार ८०५ आवेदकले उक्त कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १६ दशमलव ५४ गुणा बढी आवेदन हो ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले भोलि कार्यालय समयसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले सर्वसाधारणमा लागि सार्वजनिक निष्कासनमार्फत ६ लाख २३ हजार ३८९ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यसअघि आयोजना प्रभावित स्थानीयमा वितरण हुन नसकेको ५० हजार ३१० कित्ता शेयरसमेत जोडेर कम्पनीले सर्वसाधारणमा ६ लाख ७० हजार ३१० कित्ता शेयर वितरण गरेको हो ।
सार्वजनिक निष्कासनमा आएकोबाहेक कुल कित्ता शेयरमध्ये ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि र १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको छ ।
सर्वसाधारणले सार्वजनिक निष्कासनमा आएको शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।
अधिकृत चुक्तापूँजी ६२ करोड रहेको कम्पनीको चुक्तापूँजी ४९ करोड ६० लाख छ । सर्वसाधारणमा आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी ६२ करोड कायम हुनेछ ।

















