Dhulikhel Eco Banner new

पाँच हाइड्रोपावले पाए आईपीओ निष्कासनको अनुमति, करिब ४ अर्बको आईपीओ जारी हुँदै

5.54K
shares

काठमाडौं, ११ मंसिर । पाँच वटा हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले एशियन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, माया खोला हाइड्रोपावर र शुभम पावर कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

यी हाइड्रोपावर कम्पनीले करिब ४ अर्ब रुपैयाँको आईपीओ जारी गर्ने अनुमति पाएका छन् । पाँच वटा कम्पनीले ३ अर्ब ९८ करोड रुपैयाँको ३ करोड ९८ कित्ता शेयर निष्कासनका अनुमति पाएका हुन् । अनुमति पाएको एशियन हाइड्रोपावरले ३४ कारोडको शेयर निष्कासन अनुमति पाएको छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

यस्तै सुपरमाई हाइड्रोपावरले ५० करोड रुपैयाँको ५० लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । त्यस्तै सुपर मादी हाइड्रोपावर कम्पनीले २ अर्ब १० करोड रुपैयाँको २ करोड १० लाख कित्ता आईपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ । यो कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

यता माया खोला हाइड्रोपावर कम्पनीले १ अर्ब रुपैयाँको १ करोड कित्ता आईपीओ निष्काशन गर्न र शुभम् पावर कम्पनीले ४ करोड रुपैयाँको आईपीओ निष्कासनका लागि अनुमति पाएको छ । माया खोलाको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ भने शुभम् पावरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।