गैरआवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउन कार्यदल गठन
वि.सं.२०८० वैशाख २६ मंगलवार १८:२९
shares

काठमाडौं, २६ वैशाख । गैर आवासिय नेपाली (एनआरएनए) हरुलाई नेपालको पुँजी बजारमा भित्र्याउनका लागि अध्ययन कार्यदल गठन गरिएको छ । नेपाल धितोपत्र बोर्डका सञ्चालक समिति सदस्य सुजन कुमार काफ्लेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।
बोर्ड सञ्चालक समितिको २०७९ चैत १२ गते बसेको बैठकको निर्णय अनुसार गठित कार्यदलमा बोर्डका विज्ञ सञ्चालक भोला ढुङ्गाना र कार्यकारी निर्देशक मुत्तिनाथ श्रेष्ठ सदस्य रहेका छन् । कार्यदलको सदस्य सविचबमा बोर्डकै उप कार्यकारी निर्देशक दीपा दाहाल रहेकी छिन् ।
उक्त कार्यदलले तीन महिना भित्र गैर आवासीय नेपालीहरुलाई नेपालको पुँजी बजारमा प्रवेशका गराउनका लागि आवश्यक नियमावाली तर्जुमा गरी बोर्डमा पेश गर्नु पर्ने छ । कार्यदलले तयार पारेको नियमावाली कार्यान्वयनमा देखिन सक्ने कठिनाइ पहिचान गरेर त्यसका लागि आवश्यक पर्ने कार्यविधि पनि तयार पार्नु पर्ने छ ।



















