GBIME

नयाँ कर नीतिप्रति पुँजीबजार लगानीकर्ता असन्तुष्ट : थप आन्दोलनको घोषणा

1.44K
shares

काठमाडौं, १९ जेठ । नीति तथा कार्यक्रममार्फत ल्याइएको नयाँ कर नीतिको पुँजीबजारका लगानीकर्ताले विरोध गरेका छन् । सरकारले ल्याएको आयकर बढाउने नीतिलाई स्वीकार्न नसकिने भन्दै आन्दोलन थालेका उनीहरुले आज माइतीघरमा विरोध प्रर्दशन गरेका हुन् ।

विरोध कार्यक्रममा पुँजीबजार सुधारका अभियान्ता तिलक कोइरालाले सरकारले पुँजी बजार मारा नीति ल्याएको भन्दै चर्को आपत्ति जनाए । ‘हाम्रो बेहाल हुन्छ, अहिले पुँजीबजार मारा नीति ल्याएर पुँजीबजारलाई थला पारेर यो बजार वर्षौ उठ्दैन । ’

अर्थमन्त्रीले शेयर मार्केटबारे दिएको अभिव्यक्तिप्रति पनि उनले असन्तुष्टि पोखे । ‘अर्थमन्त्रीले भनेको ९९ प्रतिशतको कुरा होईन्, यो १ सय प्रतिशतको कुरा हो ।’ उनले भने ‘पुँजीबजार जागिर खाए जस्तो होईन, जागिरमा महिना मरेपछि पैसा आउँछ कर काटिन्छ, तर पुँजीबजार जोखिमको ठाँउ हो । यहाँ लगानि गरेर आम्दानी हुने होईन गुमाउने सम्भावना छ । कमाउनको लागि यो स्थानमा धेरै काम गर्नुपर्छ । ’

शेयर बजारमा यसअघिको भन्दा थप एक रुपैयाँ पनि कर तिर्न नसकिने उनको तर्क छ । उनले भने ‘यस्तो स्थानमा हामीले काम गरिरहेका छौ, यस्तो स्थानमा सबैभन्दा चर्को कर लगाएर हामीलाई निरुत्साहित गरियो भने, हामी त भाग्छौ नै तर नयाँ आउने पनि कोही टिक्दैन । आईपीओ बिक्दैन, बजार खतम भएर जान्छ । सरकारले १ रुपैयाँ पनि कर उठाउन सक्दैन यो स्थानबाट ।’