‘कर्जा असुली नै हालको प्रमुख चुनौती बनेको छ’
वि.सं.२०८२ माघ १८ आइतवार १७:१९
shares

काठमाडौ, १८ माघ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम बहादुर यादवले लघुवित्त वित्तीय संस्थाहरूको अवस्था पछिल्लो समय केही सुधारोन्मुख देखिए पनि कर्जा असुली अझै सन्तोषजनक अवस्थामा नपुगेको बताएका छन् । केटिएम भ्वाइसले सुरु गरेको ‘लघुवित्त फोकस’ सिरिजमा कुरा गर्दै सीईओ यादवले यस्तो बताएका हुन् ।
उनका अनुसार लघुवित्त क्षेत्र न त अत्यन्त राम्रो न त धेरै खराब अवस्थामा छ । सुरक्षाको दृष्टिकोणबाट हेर्दा विगत १–२ वर्षको तुलनामा सुधार देखिएको भए पनि छिटपुट घटनाहरू अझै भइरहेको अवस्था छ। यस्ता घटनाहरू भएमा नेपाल राष्ट्र बैंक र सुरक्षा निकायलाई जानकारी गराइँदै आएको उनले बताए ।
लघुवित्त र समग्र बैंकिङ क्षेत्रलाई असर पार्ने अर्को गम्भीर विषय कर्जा अनुशासन कमजोर हुँदै जानु रहेको यादवको भनाइ छ। सरकार र संघर्ष समिति दुर्गा प्रसाईं समूहबीच भएको सम्झौताले कर्जा मिनाहा हुने गलत मानसिकता ग्राहकहरूमा विकास गरिरहेको उनले बताए। “एक लाख मिनाहा भएपछि पैसा किन तिर्ने भन्ने सोच बढ्दै गएको छ, जसले कर्जा असुली मात्र होइन समग्र बैंकिङ प्रणालीमै नकारात्मक प्रभाव पार्न सक्छ,” उनले भने ।
उनका अनुसार कर्जा लिएपछि तिर्नु पर्दैन भन्ने मानसिकता फैलिँदै गएमा बैंकिङ क्षेत्रको रिकभरी प्रभावित हुने र अन्ततः देशको अर्थतन्त्र नै जोखिममा पर्न सक्ने अवस्था आउन सक्छ। “यसले गलत सन्देश दिएको छ, भविष्यमा यस्ता अभ्यास दोहोरिँदैनन् भन्ने स्पष्ट सन्देश जान आवश्यक छ,” उनले बताए ।
कर्जा असुलीको अवस्था अझै सामान्य अवस्थामा फर्किन नसकेको उनको भनाइ छ। बैंकिङ क्षेत्रमा नन–रिकभरी सहज नभएको र कर्जाको माग पनि अपेक्षा अनुसार बढ्न नसकेको उनले बताए । केही सुधार देखिए पनि आर्थिक गतिविधि अझै सुस्त रहेको उनको भनाइ छ।
यद्यपि, आगामी निर्वाचनपछि स्थिर र बलियो सरकार बनेमा आर्थिक गतिविधि बढ्ने र त्यसको सकारात्मक प्रभाव बैंकिङ क्षेत्र तथा लघुवित्त क्षेत्रमा पर्नेमा उनले आशा व्यक्त गरे । निर्वाचनपछि अर्थतन्त्र चलायमान हुने र कर्जा प्रवाह तथा असुलीमा सुधार आउने उनको भनाइ छ।
बैंकको जस्तो ठूलो घटना नभए पनि पर्सा, पाल्पा, सर्लाही, मोरङ र रौतहटमा छिटपुट घटना भएको उनले बताए । यद्यपि, ती घटनाहरू विगतको तुलनामा कम भएको उनको भनाइ छ।
नेशनल लघुवित्तको अवस्थाबारे उनले संस्था सामान्य अवस्थामा रहेको बताए। “समग्र लघुवित्त क्षेत्रमा समस्या देखिए त्यसको असर एउटा संस्थामा पनि पर्छ,” उनले भने, “नेशनल लघुवित्तको अवस्था अहिले ठिकै छ।”
चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासिकमा संस्थाको नाफा र कारोबार अघिल्लो वर्षको तुलनामा बढेको उनले जानकारी दिए। (एनपीएल) केही बढेको र कर्जा असुलीको दर घट्दो क्रममा रहेकाले कर्जा असुली नै हालको प्रमुख चुनौती बनेको उनले बताए ।
सम्पादकीय नोटः लघुवित्तबारे अझ प्रष्ट हुन केटिएम भ्वाइसले ‘लघुवित्त फोकस’ सिरिज सुरु गरेको छ । यस सिरिज अन्तर्गत पहिलो चरणमा हामी पालैपालो सबै लघुवित्तका सीईओहरुसँग कुराकानी गरेर समाचार पस्कनेछौँ । तत् पश्चात भने लघुवित्त क्षेत्रका सरोकारवालाको अन्तरवार्ता प्रस्तुत गर्नेछौं । तपाईलाई पनि आफ्नो कुरा राखौँ भन्ने लागेको छ भने प्रधानसम्पादक (९८५११४५६४१) मा सिधैं सम्पर्क गर्न सक्नु हुनेछ ।
















