Dhulikhel Eco Banner new

लुम्बिनी र काठमाडौंको विजयी सुरुवात

4.65K
shares

काठमाडौं, ९ पुस । नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टार र काठमाडौं नाइट्सले विजयी सुरुवात गरेका छन् । टियु क्रिकेट मैदानमा शनिबार खेलमा फार वेस्टर्न युनाईटेडलाई ६७ रनले हराउँदै लुम्बिनीले सुखद सुरुआत गरेको हो भने काठमाडौंले पोखरा एभेन्जर्स २६ रनले पराजित गरेको हो ।

शनिबारको पहिलो खेलमा काठमाडौंले दिएको १६३ रनको लक्ष्य पाएको पोखरा निर्धारित ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्रै बनाउन सक्यो । पोखराको लागि उपल थरङगाले सर्वाधिक ४४ रनको योगदान दिए । यस्तै अमिर हमाज र अभिमन्यु मिथुनले समान १८/१८ रन बनाए । काठमाडौंका लागि अभिनास बोहोराले ३ तथा बसिर अहमदले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो । काठमाडौंको लागि अजमातुल्लाह उमरजाईले ८५ रनको अविजित योगदान गरे । यस्तै सुनाम गौतमले २७ रनको योगदान दिए भने एलेक्स ब्लेक्सले २१ रनको पारी खेले । पोखराको लागि प्रतिस जिसी र जाहिर खान समान २/२ विकेट लिए । यस्तै मौसम ढकालले १ विकेट हात पारे ।

त्यस्तै शनिबारको दोस्रो खेलमा लुम्बिनीले दिएको १ सय ५३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको फार वेस्टर्नले १६ ओभर २ बलमा अलआउट हुँदै ८५ रन मात्र बनाउन सक्यो । फार वेस्टर्नका लागि कप्तान हस्मतउल्लाह शाहिदीले सर्वाधिक ३५ रन जोडे । विनोद भण्डारीले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । फार वेस्टर्नलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । सागर ढकालले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो । लुम्बिनीका लागि लाहिरु मिलान्थाले ६० रनको अर्धशतकिय पारी खेले । कप्तान दीपेन्द्र सिंह ऐरी ३५ तथा गुलसन झा २५ रनको योगदान दिए । फार वेस्टर्नका लागि उमर अलि र करन केसीले समान ३/३ विकेट लिए ।

पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख पाउने आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । त्यस्तै तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने क्यानले जनाएको छ ।

त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने क्यानले जनाएको छ ।