युभेन्ट्सको १५ अंक कटौती
वि.सं.२०७९ माघ ७ शनिवार १५:३७
shares

काठमाडौं, ७ माघ । इटालियन सिरी ‘ए’ लिगमा युभेन्ट्सलाई कारबाही गरिएको छ । इटालीको फुटबल महासंघ (एफआईजीसी) ले ट्रान्सफर डिलिङ र नक्कली पुँजीगत लाभ गरेको पुष्टि भएपछि युभेन्ट्सलाई कारबाही गरिएको हो ।
एफआईजीसीले युभेन्ट्सको १५ अंक कटौती गरेको छ । युभेन्ट्सले २०१८ देखि २० सम्म आफ्नो घाटाको गलत रिपोर्ट देखाएको आरोपमा अंक कटौति गरिएको हो । विशेष गरि खेलाडी किनबेचमा आएको रकमको सम्बन्धमा गलत रिपोर्ट देखाएर आर्थिक लाभ लिएको एफआईजीसीले जनाएको छ ।
अंक कटौती भएपछि युभेन्ट्स लिगको १० औं स्थानमा झरेको छ । अंक कटौती भएपछि उसको अंक २२ पुगेको छ । अंक कटौती पूर्व युभेन्ट्स ३७ अंक सहित तालिकाको तेस्रो स्थानमा रहेको थियो । युभेन्ट्सले अंक कटौतीविरुद्ध अपील गर्ने जनाएको छ ।



















