किसानलाइ छिटो मल उपलब्ध गराउन सांसदको माग
वि.सं.२०७९ साउन १७ मंगलवार १६:१५
shares

काठमाडौं, १७ साउन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले किसानलाई जतिसक्दो चाँडो मल उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा विशेष समयमा बोल्दै नेपाली कांग्रेसका डा डिला सङग्रौलाले भने, “अहिलेसम्म पनि किसानले मल पाउन सकेका छैनन्, कतिपय ठाउँमा कालोबजारी छ, सरकारले मल पाउने आश्वासन मात्रै दिँदै आएको छ, किसानले भोग्नु परेको समस्या समाधानको लागि ध्यानकर्षण गराउन चाहन्छु ।”
भारतसँगको जिटुजी सम्झौताको प्रक्रियाको अन्योलका नाममा हालसम्म मल आपूर्ति नभएकामा उनले चिन्ता व्यक्त गरे । सार्वजनिक खरिद ऐनले गरेको व्यवस्थाअनुसार सम्झौता भएको ३० दिनपछि मात्रै आपूर्ति सुरु गर्ने व्यवस्था भएकाले यसलाई परिवर्तन गरेर अन्तर्राष्ट्रिय व्यवस्थाअनुसार आठ दिनमा आपूर्ति सुरु गर्ने व्यवस्था गरेमा समयमा मल ल्याउन सकिने सरकारी अधिकारीको भनाइ छ ।
गतवर्ष सप्तरीका किसानले रासायनिक मलका लागि आन्दोलन गरेका थिए । गत असारमा धादिङका किसानले दुई ट्रक रासायनिक मल सडकमै खोसेका थिए । गत साता मात्रै सरकारले भारत सरकारसँग पाँच वर्षका लागि करिब नौ लाख मेट्रिकटन रासायनिक मल खरिद गर्ने सम्झौता गरेको थियो ।

















