हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरको स्वीकृति
वि.सं.२०७९ असार १२ आइतवार १६:४८
shares

काठमाडौं, १२ असार । बीमा समितिले हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको छ । दुबै कम्पनीलाई बीमा समितिले गत बिहिबार मर्जरमा जान अन्तिम स्वीकृती प्रदान गरेको हो ।
वैशाख २३ गते दुबै कम्पनीबीच मर्जरमा जाने सम्झौता भएको थियो । सम्झौता पश्चात दुबै कम्पनीले असार २ गते विषेश साधारण सभा बोलाएर मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
सभाले एभरेष्टको १०० कित्ता बराबर हिमालयन जनरलको ८५ किता अर्थात १ः०.८५ को स्वाप रेशियो कायम हुने गरी मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो । मर्जर पश्चात बन्ने कम्पनीको नाम हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड हुनेछ ।
हाल हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ रहेको छ । मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब १८ करोड १० लाख रुपैयाँ पुग्नेछ















