लघुवित्त क्षेत्र चुनौतीबीच पनि सकारात्मक दिशामा अघि बढिरहेको छ: सीईओ उपाध्याय
वि.सं.२०८३ असार ५ शुक्रवार १३:२७
shares

संगिता घोरासैनी
काठमाडौं, ५ असार । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सीईओ विष्णु प्रसाद उपाध्यायले लघुवित्त क्षेत्र नियामक निकाय नेपाल राष्ट्र बैंकको नीति, नियम र निर्देशनअनुसार अघि बढिरहेको बताएका छन् । लघुवित्त संस्थाहरूको पछिल्लो अवस्था, कर्जा व्यवस्थापन, खराब कर्जा, सेवा विस्तार तथा आगामी चुनौतीका विषयमा बोल्दै उनले लघुवित्त क्षेत्रले सुधारका प्रयासलाई निरन्तरता दिइरहेको बताएका हुन् ।
केटिएम भ्वाइससँगको कुराकानीमा सीईओ उपाध्यायले पछिल्लो समय लघुवित्त क्षेत्रबारे विभिन्न कोणबाट चर्चा हुने गरेको उल्लेख गर्दै संस्थाहरूले वित्तीय अनुशासन कायम राख्दै सेवाग्राही केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले नेपाली वित्तीय बजारमा खराब कर्जाको आकार निरन्तर बढी रहेको कुरालाई स्वीकार गर्दै चुनौतीबीच पनि उक्त क्षेत्रले सकारात्मक रूपमा अघि बढ्ने प्रयास गरिरहेको बताएका हुन् ।
कर्जा प्रवाहको चरणमै ग्राहकको आवश्यकता, भुक्तानी क्षमता तथा लगानीको उपयोगिताको सही मूल्याङ्कन गर्न सकिएमा खराब कर्जाको जोखिमलाई न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । उनले भने, “कर्जा दिँदा सबै पक्ष हेरेर आवश्यक क्षेत्रमा लगानी गर्नुपर्छ । सही उपयोग भएको कर्जा स्वतः रिकभरी हुन्छ । कर्जा दुरुपयोग भयो भने मात्रै लगानी डुब्न जान्छ,” उपाध्यायले भने ।
उनले गुराँस लघुवित्तले कर्जा प्रवाहपछि नियमित अनुगमन, ग्राहकसँगको समन्वय तथा कर्जा व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखेको जानकारी दिए । सेवाग्राहीसँग निरन्तर सम्पर्कमा रहँदा समस्या पहिचान गर्न र समाधानका उपाय खोज्न सहज हुने उनको तर्क छ । हाल गुराँस लघुवित्तले कोशी प्रदेशका १३ जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएर वित्तीय सेवा प्रदान गर्दै आएको छ । ती जिल्लाका सेवाग्राहीहरूलाई सहज, सरल र प्रभावकारी वित्तीय पहुँच उपलब्ध गराउने लक्ष्यसहित संस्था सक्रिय रहेको उनले बताए । कुनै समस्या उत्पन्न भए तत्काल समाधानका लागि पहल गर्ने व्यवस्था संस्थाले अपनाएको पनि उनले जानकारी दिए ।
सीईओ उपाध्यायले गुराँस लघुवित्तका सम्पूर्ण कार्यक्रम नेपाल राष्ट्र बैंकले तय गरेका नीति, नियम तथा निर्देशनअनुसार सञ्चालन हुँदै आएको स्पष्ट पारे । संस्थाको मुख्य उद्देश्य सेवाग्राहीलाई गुणस्तरीय तथा प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउनु रहेको उनको भनाइ छ ।
यसैक्रममा उनले सेवा शुल्कका विषयमा पनि गुराँस लघुवित्तले ग्राहकमैत्री नीति अपनाएको बताए । राष्ट्र बैंकको व्यवस्थाअनुसार लघुवित्त संस्थाहरूले १.३ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने व्यवस्था भए पनि गुराँस लघुवित्तले हाल १ प्रतिशत मात्र सेवा शुल्क लिँदै आएको उनले जानकारी दिए ।
“हामीले ग्राहकलाई आवश्यक जानकारी दिने, बुझाउने, सम्झाउने र आवश्यक सहयोग गर्ने कामलाई प्राथमिकतामा राखेका छौं । हाम्रो उद्देश्य केवल कर्जा प्रवाह गर्नु मात्र नभई ग्राहकलाई सहज वित्तीय पहुँच उपलब्ध गराउँदै उनीहरूको आर्थिक गतिविधिलाई मजबुत बनाउनु पनि हो,” उनले भने।
उपाध्यायले आगामी मौद्रिक नीतिमार्फत आउने कर्जा तथा वित्तीय कार्यक्रमहरूले लघुवित्त क्षेत्रलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गरे । त्यसैले नीति निर्माणका क्रममा लक्षित वर्गको वास्तविक आवश्यकता र ग्रामीण अर्थतन्त्रको अवस्थालाई ध्यानमा राख्नुपर्ने उनको धारणा छ ।
उनले लघुवित्त संस्थाहरूको मूल उद्देश्य महिलालाई आर्थिक रूपमा सक्षम बनाउने, स्वरोजगारका अवसर सिर्जना गर्ने तथा उद्यमशीलता विकासमा सहयोग पुर्याउने रहेको बताए । राष्ट्र बैंकले महिलाका लागि १५ लाख रुपैयाँसम्मको धितो कर्जाको व्यवस्था गरेको उल्लेख गर्दै उपाध्यायले महिला सशक्तीकरणसँग सम्बन्धित कार्यक्रमलाई गुराँस लघुवित्तले उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।
















