एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा रामकृष्ण खतिवडाको नियुक्त
वि.सं.२०८२ पुस २२ मंगलवार १०:३५
shares

काठमाडौं, पुस २२ । एनआईसी एशिया बैंक लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा रामकृष्ण खतिवडानियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव हासिल गरेका खतिवडा चार्टर्ड फाइनान्सियल एनालिष्ट तथा चार्टर्ड इकोनोमिष्ट हुन् । उनले पूर्वाधार विकास, परियोजना विकास तथा व्यवस्थापन, ऊर्जा नियमन, सार्वजनिक–निजी साझेदारी लगायतका क्षेत्रमा दुई दशकभन्दा बढी व्यावसायिक अनुभव संगालेका र वित्त तथा व्यवस्थापन विज्ञका रूपमा परिचित हुन् ।
खतिवडाले यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडमा सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, विद्युत नियमन आयोगको सदस्य, एनआईबीएल एस क्यापिटल लिमिटेडमा महाप्रबन्धक तथा कम्पनी सचिव, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडमा फाइनान्सियल एनालिष्ट तथा सहायक महाप्रबन्धकका रूपमा जिम्मेवारी निर्वाह गरेका छन्। साथै उनले लगानी बोर्ड नेपाललगायत विभिन्न संस्थामा उच्च तहमा रही काम गरेका अनुभव छ।
एनआईसी एशिया बैंकले स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएका रामकृष्ण खतिवडालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सम्पूर्ण बैंक परिवारको तर्फबाट हार्दिक स्वागत तथा बधाई ज्ञापन गरेको छ।















