Dhulikhel Eco Banner new

पाल्पा सिमेन्टको आईपीओ आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

3.69K
shares

 

काठमाडौं, २५ पुस । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आज पुस २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड ९सेबोन० बाट पुस ९ गते अनुमति पाएको हो। अनुमति प्राप्त गरेसँगै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितका लागि १८ लाख ७५ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख ६२ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको छ।

आयोजना प्रभावित समूहअन्तर्गत पश्चिम नवलपरासी (साविक नवलपरासी जिल्ला) तथा खानी क्षेत्र रहेको पाल्पा जिल्लाका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। यी दुवै समूहले आवेदन गर्दा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको आईपीओमा पुस ३० गतेसम्म आवेदन दिन सकिनेछ भने आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि माघ ९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ। कम्पनीको आईपीओ रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले ‘डबल बी प्लस इस्यूअर’ रेटिङ दिएको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

आयोजना प्रभावित आवेदकहरूले नबिल बैंकको तानसेन, बर्दघाट, बुलिबटार र गैंडाकोट शाखा, प्रभु बैंकको पाल्पा, बर्दघाट, परासी र बेलातारी शाखा तथा सिद्धार्थ बैंकको पाल्पा, बर्दघाट र परासी शाखाबाट आवेदन फाराम प्राप्त गरी बुझाउन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सेबोनबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्वा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।