नाफा, आम्दानी र कर्जा गुणस्तरमा सुधार, मञ्जुश्री फाइनान्सको सशक्त प्रदर्शन
मञ्जुश्री फाइनान्सको वित्तीय नतिजा उत्साहजनक, इपिएस २० रुपैयाँ नाघ्यो
वि.सं.२०८२ माघ ७ बुधवार १०:१३
shares

काठमाडौं, ७ माघ । मञ्जुश्री फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६३ प्रतिशतले बढी हो।
गत आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले ११ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। सार्वजनिक वित्तीय विवरणअनुसार यस वर्ष नाफामा उल्लेख्य सुधार देखिएको हो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३९ करोड ८० लाख रुपैयाँबाट बढेर ४५ करोड ३२ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी कुल सञ्चालन आम्दानी पनि ४७ करोड ६० लाख रुपैयाँबाट बढेर ५३ करोड ६१ लाख रुपैयाँ पुगेको छ।
यद्यपि, यस अवधिमा कम्पनीको सञ्चालन नाफा भने घटेको छ। पुस मसान्तसम्म सञ्चालन नाफा २१ करोड ६१ लाख रुपैयाँबाट घटेर १९ करोड १२ लाख रुपैयाँमा झरेको छ। सोही अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा २३ करोड ५६ लाख रुपैयाँ रहेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३३ पैसाबाट बढेर २० रुपैयाँ ०३ पैसा पुगेको छ भने खराब कर्जा अनुपात ३.८६ प्रतिशतबाट घटेर ३।६४ प्रतिशतमा झरेको छ। यसले कर्जा गुणस्तरमा सुधार देखिएको संकेत गर्छ।
पुस मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा रहेको छ भने आधार दर ६.९१ प्रतिशत कायम रहेको छ।
१ अर्ब ३५ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको मञ्जुश्री फाइनान्सको जगेडा कोषमा १ अर्ब १ करोड ७६ लाख रुपैयाँ सञ्चिति रहेको छ। समीक्षा अवधिसम्म कम्पनीले १९ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने २२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

















