Dhulikhel Eco Banner new

बैंकिङ क्षेत्रको नेतृत्वमा ‘ग्लोबल’ छाप

ग्लोबल आइएमईको ‘स्कुल’बाट निस्किएका बैंकिङ क्षेत्रका सारथीहरू

2.05K
shares

काठमाडौं, ५ भदौ । नेपाली बैंकिङ क्षेत्रमा अहिले एउटा रमाइलो संयोग देखिएको छ । विभिन्न बैंकमा सीईओ बनेकाहरू कुनै बेला एउटा बैंकको कर्मचारीका रूपमा कार्यरत थिए ।

यहाँ भन्न खोजिएको कुरा ग्लोबल आइएमई बैंकको हो । ग्लोबल आइएमई बैंक डेढ दर्जनभन्दा बढी बैंकहरू मर्ज भएर धेरै सूचकमा नम्बर वान नै देखिएको छ । अझ रमाइलो कुरा चाहिँ कुनै बेला ग्लोबल आइएमईका कर्मचारीका रूपमा काम गरेका बैंकरहरू अहिले विभिन्न बैंकको कार्यकारी नेतृत्व तहमा पुगेका छन् ।

अहिले बहालवाला अधिकांश भेट्रान सीईओहरू कुनै बेला ग्लोबल आइएमई बैंकमा कार्यरत थिए । बैंकिङ क्षेत्रका जानकारहरू ग्लोबल आइएमईलाई सीईओ उत्पादन गर्ने विश्वविद्यालयका रूपमा विश्लेषण गर्छन् ।

काठमाडौंका क्याफेमा भेटिएका दुई पूर्व बैंकरहरूले केटिएम भ्वाइसँग भनेका थिए, ‘अचम्म लाग्दो संयोग मात्रै होइन, ग्लोबल आइएमईलाई सीईओ उत्पादन गर्ने कारखाना वा विश्वविद्यालय भन्दा पनि फरक पर्दैन ।’ कफी गफमा दिल खोलेर यसबारे बताएका ती बैंकरहरूले औपचारिक प्रतिक्रिया दिन भने मानेनन् ।

उनीहरूले भनेको कुरा तथ्यले पनि पुष्टि गर्छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये शक्तिशाली भनिएका ४ बैंकका सीईओहरू ग्लोबल आइएमईकै पूर्व कर्मचारी हुनु यसको एउटा उदाहरण हो ।

करिब २ दशकदेखि बैंकिङ क्षेत्रमा कलम चलाइरहेका वरिष्ठ बैंकिङ पत्रकार माधव निर्दोष ग्लोबल आइएमई बैंकको व्यवस्थापकीय क्षमता नै प्रशंसायोग्य रहेको बताउँछन् । कुनै बैंकमा काम गरेर अर्को बैंकको नेतृत्व तहमा पुग्नुलाई स्वाभाविक नै मान्नुपर्ने उनको धारणा छ । यद्यपि, ग्लोबलको व्यवस्थापकीय क्षमता तुलनात्मक रूपमा अन्य बैंकभन्दा राम्रो रहेको र यसले अन्य बैंकहरूमा पनि सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।

‘ग्लोबल आइएमई अग्रणी बैंकको रूपमा देखा परेको छ, अझ रेमिट्यान्सलाई वैधानिक च्यानलबाट देशमा भित्र्याउने र निजी क्षेत्रमा लगानी बढाउने कुरामा यो बैंकको विशेष योगदान छ,’ पत्रकार निर्दोष भन्छन् ।

विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा बोर्ड र व्यवस्थापनबीचको झगडा सतहमा देखिन्छ । बोर्डले सीईओको बदनाम गराउने र सीईओले बोर्डको आलोचना गर्दै बैंक छाडेर हिँड्ने उदाहरण पनि धेरै देखिन्छन् । ग्लोबल आइएमईको भने यस्ता खबरहरू बाहिर आएका छन् । यसले ग्लोबलको व्यवस्थापकीय क्षमता राम्रो रहेको पत्रकार निर्दोषको विश्वास छ ।

‘तुलनात्मक रूपमा व्यवस्थापन ग्लोबलको राम्रो छ, नकारात्मक छवि छैन,’ उनले भने, ‘यस्तो संस्थामा पनि कामको अनुभव भएका व्यक्तिहरू अरू संस्थामा जाँदा समग्र बैंकिङ क्षेत्रलाई नै सकारात्मक असर पर्छ भन्ने अपेक्षा गर्न सकिन्छ ।’

ग्लोबल आइएमईमा सिके, अरू बैंकमा नेतृत्व गरे

अब कुरा आउँछ, कुन-कुन बैंकमा ग्लोबलमा काम गरेका बैंकर सीईओका रूपमा कार्यरत छन् रु कतिपय बैंकरहरू आफ्नो क्षमता र दक्षताले विभिन्न बैंक तथा कर्पोरेट सेक्टरको नेतृत्व गर्ने अवसर पाएका छन् भने कतिपयलाई भने लकले साथ दिएको छ ।

लकले साथ दिएर होस् या आफ्नो दक्षता र क्षमता प्रदर्शन गरेर होस्, उनीहरूले आफ्नो संस्थाको कुशल नेतृत्व गरिरहेका छन् । कतिपय संस्थामा भर्खरै नेतृत्व तहमा पुगेकाहरूको भने अहिले नै मूल्यांकन गर्न हतारो हुन सक्छ ।

यति भनिसकेपछि अब कुरा गरौँ, ग्लोबल आइएमई बैंकमा काम गरेका कुन बैंकर कुन बैंक वा कर्पोरेट संस्थाको नेतृत्व गरिरहेका छन् ?

सीए मनोज ज्ञवाली : भेट्रान युवा बैंकर

अहिलेका भेट्रान युवा बैंकरका रूपमा आफ्नो छवि बनाएका मनोज ज्ञवाली ग्लोबल आइएमईकै पूर्व कर्मचारी हुन् ।

ज्ञवाली धेरै सूचकमा नम्बर वान पोजिसनमा रहेको नेपालको पहिलो ज्वाइन्ट भेन्चर बैंक नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन् । हुन त, ज्ञवालीसँग केन्द्रीय बैंकमै पनि काम गरेको अनुभव छ ।

ज्ञवाली केन्द्रीय बैंकको जागिर छाडेर ग्लोबल आइएमई बैंक पुगेका थिए । ग्लोबल आइएमईपछि अन्य संस्थामा पनि काम गरेका ज्ञवाली अहिले नबिलजस्तो संस्थाको सीईओका रूपमा कार्यरत छन् ।

सुमन शर्मा : एक बौद्धिक बैंकर

प्रभु बैंकको लफडाबारे अहिले सबैलाई थाहा छ । तत्कालीन सीईओ अशोक शेरचनसहित बैंकका उच्च व्यवस्थापन तहका कर्मचारीहरूलाई प्रहरीले पक्राउ गरेपछि बैंक शून्यताको अवस्थामा जस्तो रह्यो ।

पोजिसनका हिसाबले निकै तल रहेका बैंकर निरज लम्सालले बैंकको कामचलाउ नेतृत्व गरे । बैंक समस्यामा पर्ने भएपछि बैंकका संस्थापकदेखि केन्द्रीय बैंकसम्मलाई तनावको विषय बनेको थियो । बैंकलाई पार लगाउने किसिमको नेतृत्व जरुरी थियो ।

अहिले बौद्धिक, समस्याबाट नभागी समाधान गर्न सक्ने क्षमतावान् बैंकर खोज्ने क्रममा भेटिए बैंकर सुमन शर्मा । अहिले प्रभु बैंकको नेतृत्व गरिरहेका शर्मा कुनै बेला ग्लोबल आइएमई बैंकमै कार्यरत थिए । ग्लोबलका डीसीईओ भएका शर्मा तत्पश्चात् माछापुच्छ्रे र सनराइज बैंकको सफल नेतृत्वसमेत गरेका थिए । अहिले भने उनी समस्यामा फसेको प्रभु बैंकलाई उद्धार गर्न भोकतिर्खा त्यागेर लागिपरेका छन् ।

सुजित शाक्य : अ स्मार्ट बैंकर

एनआईसी एशिया बैंक एकताका निकै आक्रामक थियो । कर्जा लगानीमा होस् या डिपोजिट संकलनमा होस्, यो बैंक निकै आक्रामक थियो । बैंक शाखाको त कुरै नगरौँ, नेपालको धेरै शाखा भएको नम्बर वान बैंक नै एनआईसी एशिया बन्यो ।

ब्रान्डिङमा त अझ यो बैंक नेपाली इतिहासकै ठूलो लगानी गर्ने बैंक हो । यो बैंकले ब्रान्डिङ तथा प्रमोसनमा एक किसिमको क्रान्ति नै ल्याइदिएको थियो । यद्यपि, तत्कालीन सीईओ रोशनकुमार न्यौपानेले छाडेपछि बैंक संकटमा पर्छ भन्ने धेरैले सोचेका थिए ।

अहिले बैंक विस्तारै ट्र्याकमा आउँदैछ । यसमा कमाल गरिरहेका छन्, सीईओ सुजितकुमार शाक्यले । अहिले एनआईसी एशियाको सीईओका रूपमा कार्यरत सुजित शाक्य पनि ग्लोबल आइएमई बैंककै पूर्व कर्मचारी हुन् । यद्यपि, एनआईसी एशिया बैंक जानुअघि उनी नबिल बैंकका डीसीईओ थिए ।

गोविन्द गुरुङ : संगितमय बैंकर

बैंकिङ विषय नबुझ्नेलाई झ्याउ लाग्दो र बुझ्नेलाई रमाइलोवाला क्षेत्र नै हो । यस क्षेत्रमा रहेकाहरूलाई रमाउनका लागि डिस्कोमा झुम्ने वा दोहोरीमा रम्ने गरिराख्नु पर्दैन । काममै रमाउने, काममै आनन्द लिने धेरै बैंकरको स्वभाव हुन्छ ।

यद्यपि, हरेक व्यक्तिको पर्सनल लाइफ हुन्छ । प्रोफेसनल समयसँगै पर्सनल समय पनि राम्रोसँग बिताउन सक्ने बैंकका सीईओ कमै हुन्छन्, त्यसमध्ये एक हुन् गोविन्द गुरुङ । अहिले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका गोविन्द गुरुङ पनि कुनै बेला ग्लोबल आइएमई बैंकमा कार्यरत थिए ।

यहाँ माथि संगीतको कुरा गर्नुको खास कारण चाहिँ गुरुङ संगीतमा मस्त रमाउने व्यक्ति हुन् । हुन त, एनआईसी एशियाका सीईओ सुजित शाक्य पनि संगीतमा रमाउँछन् । गीतकारसमेत रहेका गुरुङ आफूलाई संगीतप्रेमी हुँ भनेर पुष्टि गर्न बेलाबेलामा सामाजिक सञ्जालमा यस्ता गतिविधिहरू पोस्ट गर्ने गरेका छन् ।

जेहोस्, अहिले उनले सरकारको बहुमत लगानी रहेको कृषि विकास बैंकमा सीईओका रूपमा सफल नेतृत्व गरिरहेका छन् ।

अन्य संस्थामा पनि उस्तै छ उपस्थिति

एनआईएमबी बैंकको डीसीईओका रूपमा नेतृत्व गर्ने अवसर पाएका महेश शर्मा ढकालले यो पंक्तिकारसँग भनेका थिए, ‘मैले अप्ठ्यारो बाटो रोजेँ ।’ ढकालले भनेको उक्त कुरा मुलुकको नम्बर वान डिजिटल पत्रिका अनलाइनखबरमा प्रकाशित छ । उनले ग्लोबल आइएमई बैंकको सेकेन्ड म्यान भएकै बेला यस्तो अनुभव सुनाएका थिए ।

पछि उनी ग्लोबल छाडेर नेपाल इन्भेस्टमेन्ट बैंक पुगे । ग्लोबलमै रहेको भए सीईओ हुनेमा उनी अर्को बैंक गएर डीसीईओमा थन्किएको भन्दै कतिपयले अहिले फेरि भन्न थालेका छन्, ‘ढकालले फेरि अप्ठ्यारो बाटो रोजे ।’

खैर, ढकाल अहिले एनआईएमबी बैंकको डीसीईओका रूपमा कार्यरत छन् । बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे कानुनी झमेलामा पर्दा उनले कामचलाउ रूपमा काम गर्ने अवसर पनि पाए ।

ढकालमा मात्रै होइन, अन्य थुप्रै बैंकरहरू ग्लोबल छाडेर विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत छन् । केही दिनअघि प्रभु बैंकको सेकेन्ड म्यानका रूपमा काम सुरु गरेका राज रिमाल, माछापुच्छ्रे बैंकमा डीसीईओ नियुक्त भएका कल्याण पाण्डे, लक्ष्मी सनराइज बैंककी आरती राणा, नबिल बैंकका डिजिएम गणेश अवस्थी लगायतका बैंकरहरू पनि ग्लोबलकै पूर्व कर्मचारी हुन् ।

उता सिल्क ग्रुपका डेपुटी सीईओका रूपमा कार्यरत जनक भट्टराई हुन् या कुमारी बैंकको उच्च व्यवस्थापन तहमै रहेका भूषण तुलाधर लगायतका बैंकरहरू पनि ग्लोबलका पूर्व कर्मचारी हुन् । प्रभु बैंकको सेकेन्ड म्यान बन्नुअघि रिमाल सिल्क ग्रुपमै कार्यरत थिए । डेपुटी सीईओका रूपमा अहिले ग्लोबलकै पूर्व कर्मचारी जनक भट्टराईले सिल्क ग्रुपकै नेतृत्व गरिरहेका छन् ।

माथि उल्लेखित पात्रहरू केही प्रतिनिधि पात्र मात्रै हुन्, यस्ता धेरै बैंकरहरू विभिन्न बैंक तथा वित्तीय संस्थामा छरिएर रहेका छन् ।