बुढानीलकण्ठमा एनएसओ चाइनाको सम्पर्क कार्यालय उद्घाटन
वि.सं.२०८३ भदौ २ मंगलवार ०९:५३
shares

काठमाडौं,२ भदौ । नेपाल र चीनमा रहेका नेपाली विद्यार्थी तथा युवाबीच सहकार्य, समन्वय र संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले स्थापित एनएसओ चाइनाको सम्पर्क कार्यालय काठमाडौंको बुढानीलकण्ठमा उद्घाटन गरिएको छ।
सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा एनएसओ चाइनाका संस्थापक अध्यक्ष मनोज भट्टले नेपालबाट चीनमा अध्ययन गर्न जाने तथा चीनमा अध्ययनरत नेपाली विद्यार्थीबीच समन्वय र सहकार्यका लागि प्रभावकारी संस्था आवश्यक भएकाले एनएसओ चाइनाको स्थापना गरिएको बताउए।
उनले चीनमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई आवश्यक सहयोग, समन्वय तथा विभिन्न गतिविधिमा सहजीकरण गर्ने संस्थाको मुख्य उद्देश्य रहेको जानकारी दिए। अध्यक्ष भट्टले नेपालबाट ठूलो खर्च गरेर टाढाका युरोप तथा अमेरिका जानुभन्दा नजिकै रहेको चीनका शैक्षिक अवसरलाई पनि नेपाली विद्यार्थीले प्राथमिकताका साथ लिनुपर्नेमा जोड दिए।
“चीन अहिले विश्वका विभिन्न क्षेत्रमा अग्रणी राष्ट्रका रूपमा अघि बढिरहेको छ। त्यसैले नेपाली विद्यार्थी चीन जान हिच्किचाउनु हुँदैन,” भट्टले भने।
चीनबाट शिक्षा हासिल गर्नुका साथै आधुनिक प्रविधि, सीप र व्यावहारिक ज्ञान सिकेर त्यसलाई नेपालमा उपयोग गर्नुपर्नेमा उहाँले जोड दिए। विदेशमा अध्ययनबाट प्राप्त ज्ञान र सीपलाई स्वदेशमै प्रयोग गरी देश विकासमा योगदान पुर्याउनुपर्ने उनको भनाइ थियो।
चीनमा स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरिरहनुभएका भट्टले एनएसओ चाइनामार्फत नेपाली विद्यार्थीलाई अध्ययनलगायत विभिन्न क्षेत्रमा सक्दो सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गए।
कार्यक्रममा विभिन्न विषयमा विद्यावारिधि गरेका व्यक्तिहरू तथा चीनमा अध्ययन गरेका र अध्ययनरत नेपालीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नेपाल तथा चीनमा रहेका नेपाली विद्यार्थी र युवाबीच समन्वय तथा सहकार्य बढाउन यस्ता संस्थाको आवश्यकता रहेको धारणा व्यक्त गर्दै एनएसओ चाइनाको आगामी यात्राका लागि शुभकामना दिएका थिए।
एनएसओ चाइनाले आगामी दिनमा नेपाल तथा चीनमा रहेका नेपाली विद्यार्थी र युवाबीच सम्बन्ध विस्तार गर्दै शैक्षिक, व्यावसायिक तथा सामाजिक क्षेत्रमा सहकार्यका गतिविधिलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।
















