Dhulikhel Eco Banner new

आईपीओ निष्कासनका लागि थप चार कम्पनीले मागे अनुमति

338
shares

काठमाडौं,२ भदौ  । आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट थप चार कम्पनीले अनुमति मागेका छन् । मकरीगाड हाइड्रोपावर लिमिटेड, कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, इन्द्रेणी मसरुम फार्म लिमिटेड र मध्यपुर अस्पताल लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् ।

यी चारवटै कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ निष्कासन गर्ने गरी अनुमति मागेका छन् । कम्पनीहरूले साउन महिनामै आवेदन दिए पनि सेबोनले आफ्नो वेबसाइटमार्फत हालै मात्र यसको जानकारी सार्वजनिक गरेको हो ।

मकरीगाड हाइड्रोपावरले २२ लाख २७ हजार ५०० कित्ता आईपीओ निष्कासनका लागि साउन २२ गते आवेदन दिएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

यस्तै, इन्द्रेणी मसरुम फार्मले ८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासनका लागि साउन २२ गते नै आवेदन दिएको छ । कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

साउन २२ गते नै मध्यपुर अस्पतालले पनि आईपीओ निष्कासनको अनुमति मागेको छ । अस्पतालले २८ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको हो । यसको बिक्री प्रबन्धक पनि मुक्तिनाथ क्यापिटल रहेको छ । कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनीले भने २४ लाख कित्ता आईपीओ निष्कासनका लागि साउन २९ गते बोर्डमा आवेदन दिएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

यी चार कम्पनीले कुल ८३ लाख २ हजार ५०० कित्ता आईपीओ निष्कासनका लागि अनुमति मागेका छन् । अंकित मूल्य १०० रुपैयाँका आधारमा हेर्दा यी कम्पनीहरूले कुल ८३ करोड २ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेका छन् ।

तर, पछिल्लो समय सेबोनले नयाँ आईपीओ निष्कासनको अनुमति प्रक्रिया अघि बढाएको छैन । बोर्डले गत वैशाख २ गतेपछि कुनै पनि कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छैन ।

प्राथमिक बजारमा सुधारका विभिन्न योजना अघि सारेको सेबोनले नीतिगत सुधारपछि मात्र नयाँ आईपीओ निष्कासनको अनुमति प्रक्रिया अघि बढाउने बताउँदै आएको छ । त्यसैले आवेदन दिएका यी चार कम्पनीको आईपीओ स्वीकृति भने बोर्डको आगामी नीतिगत निर्णयमा निर्भर रहनेछ ।