Dhulikhel Eco Banner new

विश्वकप नजिकिँदै गर्दा अनलाइन बेटिङ ठगीको जोखिम, प्रहरीले गरायो सचेत

1.01K
shares

काठमाडौँ । फिफा विश्वकप २०२६ यही जुन ११ देखि सुरु हुँदैछ । अमेरिका, मेक्सिको र क्यानडाले विश्व फुटबलको महाकुम्भ आयोजना गर्दैछन् ।

विश्वभर फुटबलका करोडौँ समर्थक छन् । नेपालमा पनि लाखौँ फुटबल प्रेमीहरू छन् । विश्वकप फुटबलसँगै अनलाइन बेटिङ र सट्टेबाजीको प्रलोभन देखाएर ठगी हुने गरेको घटना यसअघि पनि सार्वजनिक भएको थियो । यसपटकको विश्वकपमा पनि त्यस्ता घटना हुनसक्ने भन्दै प्रहरीले सचेत गराएको छ ।

प्रहरीले आफ्नो फेसबुक पेजमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै सट्टेबाजी सञ्चालन नगर्न र नखेल्न सबैलाई सचेत गराएको हो । प्रहरीका अनुसार ‘थोरै पैसा लगानी गरौँ धेरै पैसा कमाऔँ र घर बसेरै पैसा कमाऔँ’ जस्ता आकर्षक स्किम र विज्ञापन सामाजिक सञ्जालमा पोस्ट गरेर गिरोहले प्रलोभनमा पार्छन् ।

मोबाइल स्क्रिनमा आउने त्यस्ता विज्ञापनलाई विश्वास नगर्न र ठगीको ‘सिकार’ नबन्न प्रहरीले आग्रह गरेको छ । दुई जना प्रहरी निरीक्षकले भिडियो सन्देशमा भनेका छन्, ‘सजिलै पैसा कमाउन बेटिङको प्रलोभनमा पर्नुभयो भने तपाई सजिलै ठगीको सिकार बन्ने निश्चित छ ।’ उनीहरूका अनुसार घरमा बसेर पैसा कमाउन खोज्नेहरूलाई ठगी धन्दा सञ्चालन गर्नेले सुरुमा केही जितेको जस्तो देखाउँछन् त्यसपछि थप रकम हाल्न प्रेरित गरेर ठग्छन् ।

मुलुकी अपराध संहिता २०७४ अनुसार सट्टेबाजी गर्नु हुँदैन । अनलाइन सट्टेबाजी सञ्चालन गर्ने र खेल्नेहरू दण्डनीय काम भएको भन्दै टोल छिमेकमा त्यस्ता गतिविधि भएको थाहा पाएमा खबर गर्न प्रहरीले आग्रह गरेको छ ।