काठमाडौँका यी क्षेत्रमा तीन दिन दैनिक साढे तीन घण्टा विद्युत् आपूर्ति बन्द हुने
वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१९
shares

काठमाडौं, २८ जेठ । काठमाडौँका विभिन्न स्थानमा तीन दिनसम्म दैनिक साढे तीन घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले बिहीवार सूचना जारी गर्दै स्यूचाटार सबस्टेशनदेखि मातातीर्थ सबस्टेशनसम्मको १३२ केभी लाइनको पुरानो तार बदली गर्न विद्युत् आपूर्ति बन्द गर्न लागिएको जनाएको हो।
यसअनुसार कुलेश्वर वितरण केन्द्र अन्तर्गतका थानकोट फिडर र सतुंगल फिडरका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने छ। ती स्थानहरूमा जेठ २९, ३० र ३१ गते बिहान साढे ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको छ।
थानकोट फिडरअन्तर्गत चन्द्रागिरी नगरपालिका–१४ को कार्यालय आसपास, बालकुमारी मन्दिर, सशस्त्र प्रहरी बल कार्यालय, सिजी क्षेत्र, पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुङ्गेधारा, ब्राइट फ्युचर, बाइछाप, यातायात, दाउरा डिपो, हाईभिजन कोलोनी, पशुविकास र श्रृजना चोक क्षेत्र प्रभावित हुनेछन्।
त्यसैगरी सतुंगल फिडर अन्तर्गत धौलागिरी गेट आसपास, सिंचाफाँट र शिवमन्दिर आसपासका क्षेत्रमा पनि विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।















