Dhulikhel Eco Banner new

विश्वकप उद्घाटन : मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले हरायो 

455
shares

फिफा विश्वकप २०२६ को पहिलो खेल नै इतिहासको पानामा अमर भयो। मेक्सिको सिटीको एस्टेका रंगशालामा ८० हजारभन्दा बढी दर्शकको उत्साही उपस्थितिमा सह–आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलले पराजित गर्दै विश्वकपमा सुखद सुरुवात गरेको छ। गोल, उत्साह र विवाद एकसाथ भएको यो उद्घाटन खेल फुटबल प्रेमीको स्मृतिमा लामो समय जीवित रहनेछ।

खेल सुरु भएको जम्मा नौ मिनेटमै मेक्सिकोका जुलियन क्विनोनेसले गोल दागेर एस्टेकालाई हर्षनादले थर्काए। सन् २००६ यताका विश्वकप उद्घाटन खेलमध्ये यो सबैभन्दा चाँडो भएको पहिलो गोल हो। त्यसपछि दक्षिण अफ्रिकाले बराबरी खोज्दै दबाब दिने कोसिस गरे पनि मेक्सिकी रक्षापंक्ति अटल रह्यो।

खेलको ६७औँ मिनेटमा अनुभवी स्ट्राइकर राउल जिमेनेजले दोस्रो गोल थपेर मेक्सिकोको जित सुनिश्चित गरे। चौथोपटक विश्वकप खेलिरहेका जिमेनेजका लागि यो विश्वकप इतिहासमा उनको पहिलो व्यक्तिगत गोल थियो — लामो प्रतीक्षापछि आएको सो गोलले दर्शकदीर्घामा भावनाको बाढी नै ल्यायो।

तर यो खेललाई गोलभन्दा बढी रातो कार्डको बर्षाले इतिहासको पानामा दर्ज गर्‍यो। विश्वकप उद्घाटन खेलमा पहिलोपटक एकै खेलमा तीन रातो कार्ड देखाइएको छ। दक्षिण अफ्रिकाका याया सिथोले र थेम्बा ज्वानेले सिधै रातो कार्ड पाउँदै मैदान छाडेपछि दक्षिण अफ्रिका ९ जना खेलाडीमा सीमित भयो। खेलको अन्तिम समयमा मेक्सिकोका सेसार मोन्टेसलाई पनि रातो कार्ड देखाइयो। दुई टोलीका तीन खेलाडी मैदानबाहिर जानुपर्दा खेलको उत्तरार्ध निकै तनावपूर्ण र उतारचढावले भरिएको थियो।

यस जितसँगै मेक्सिकोले विश्वकप उद्घाटन खेलमा पराजित नभएको आफ्नो शृंखला कायम राख्दै समूह ‘ए’ मा तीन अंकसहित शुरुवाती अग्रता लिएको छ। दक्षिण अफ्रिका भने दुई खेलाडी निलम्बित हुँदा अर्को खेलमा थप दबाबमा पर्ने निश्चित छ।