सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश गरेपछि स्थानीय बासिन्दाले लखेटे
वि.सं.२०८३ जेठ २९ शुक्रवार १३:१३
shares

काठमाडौं, २९ जेठ । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रस्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मी नेपाली भूभागतर्फ प्रवेश गरेपछि स्थानीय बासिन्दाले लखेटेका छन्।
स्थानीयका अनुसार सीमा क्षेत्रमा रहेको खोला तरेर हतियारसहित भारतीय सुरक्षाकर्मी नेपाली क्षेत्रमा प्रवेश गरेका थिए। उनीहरू नेपाली भूभागमा आएपछि स्थानीयले प्रवेशको कारणबारे सोधपुछ गर्दै रोक्न प्रयास गरेका थिए। तर भारतीय सुरक्षाकर्मी अटेरी बनेपछि स्थानीय बासिन्दा एकजुट भएर विरोधमा उत्रिएका थिए।
स्थानीयको विरोध र प्रतिकारपछि भारतीय सुरक्षाकर्मी आफ्नै क्षेत्रमा फर्किन बाध्य भएको बताइएको छ। घटनापछि केही समय सीमा क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
स्थानीयले यसअघि पनि भारतीय सुरक्षाकर्मीले सुस्ता क्षेत्रमा निर्माणाधीन तटबन्धको काममा अवरोध गर्दै आएको आरोप लगाएका छन्। उनीहरूका अनुसार केही दिनअघि भारतीय पक्षले तटबन्ध निर्माण रोक्न दबाब दिँदै करिब १३२ मिटर क्षेत्रभित्र निर्माण कार्य नगर्न आग्रह गरेको थियो। घटनाबारे सम्बन्धित सुरक्षा निकाय र प्रशासनबाट औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ। सीमा क्षेत्रको अवस्थाबारे थप जानकारी संकलन भइरहेको स्थानीयनीयहरूले बताएका छन्।















