Dhulikhel Eco Banner new

तेलको मूल्य विश्वमा घट्यो, नेपालमा भने उपभोक्ता जहाँको त्यहीं

1.37K
shares

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटिरहेका बेला नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा कुनै कटौती नगर्ने निर्णय गरेको छ। सोमबार जारी विज्ञप्तिमार्फत निगमले हाल कायम मूल्यलाई यथावत राख्ने जनाएको हो।

विश्व बजारमा तेलको भाउ उच्च दरले खस्किरहँदा नेपाली उपभोक्ताले त्यसको फाइदा पाउने अपेक्षा गरेका थिए। तर निगमले भारतीय आयल कर्पोरेशनको खरिद मूल्य, ढुवानी लागत र आफ्नो वित्तीय अवस्थाको मूल्याङ्कन गरेर मात्र मूल्य समायोजन गर्ने नीतिलाई अडान बनाउँदै मूल्य नघटाउने निर्णय सुनाएको हो।

मूल्य संरचनाअनुसार पहिलो वर्गका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, वीरगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा पेट्रोल प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल २२२ रुपैयाँ ५० पैसामै बिक्री हुनेछ।

दोस्रो वर्गका सुर्खेत र दाङमा पेट्रोल २१६ रुपैयाँ र डिजेल–मट्टितेल २२४ रुपैयाँ प्रतिलिटर कायम रहनेछ। काठमाडौं, पोखरा र दिपायल पर्ने तेस्रो वर्गमा पेट्रोल २१७ रुपैयाँ र डिजेल–मट्टितेल २२५ रुपैयाँ प्रतिलिटरमा बिक्री हुने छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा फाइदा उपभोक्तासम्म नपुर्‍याउने तर मूल्य बढ्दा भने तुरुन्त समायोजन गर्ने निगमको यो रवैयाले उपभोक्तावर्गमा असन्तुष्टि बढ्दै गएको छ। फिलहाल सर्वसाधारणले पहिलेकै महँगो दरमा इन्धन किन्न बाध्य हुनेछन्।