Dhulikhel Eco Banner new

बेइजिङमा खनाल–वाङ भेट : चीनले नेपाललाई छिमेकी कूटनीतिको प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍यायो

650
shares

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बेइजिङमा औपचारिक भेटवार्ता भएको छ। भेटमा वाङले नेपालसँगको सम्बन्धलाई चीनको छिमेकी कूटनीतिको केन्द्रमा राख्ने प्रतिबद्धता पुनः दोहोर्‍याए।

वाङले ‘टाढाको नातेदारभन्दा नजिकको छिमेकी राम्रो’ भन्ने पुरानो उक्ति सम्झाउँदै नेपालको विकास, समृद्धि र आधुनिकीकरणको यात्रामा चीन सधैं भरपर्दो साझेदारको रूपमा उभिने बताए। चिनियाँ विदेश मन्त्रालयले सार्वजनिक गरेको विवरणमा यो कुरा उल्लेख गरिएको छ।

वाङले नेपाल र चीनबीचको मित्रता दशकौंको उतारचढावमा पनि अटल रहेको बताउँदै यस सम्बन्धले दुवै देशका जनता र राष्ट्रिय हितमा सकारात्मक भूमिका खेल्दै आएको धारणा राखे। कूटनीतिक सम्बन्ध स्थापनाको लामो यात्रामा विश्व राजनीतिमा जस्तोसुकै उथलपुथल आए पनि दुवै देशले शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तलाई आफ्नो सम्बन्धको जग बनाइरहेको उनको भनाइ थियो।

दुवै देश भौगोलिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले एकअर्काका नजिक रहेको उल्लेख गर्दै वाङले साझा भविष्य निर्माणका लागि सहकार्यलाई अझ सुदृढ पार्नुपर्ने आवश्यकतामा जोड दिए। आगामी दिनमा आपसी विश्वास र साझेदारीलाई नयाँ उचाइमा लैजाने अपेक्षा पनि उनले व्यक्त गरे।