राष्ट्र बैंकको कडाइ: संस्थापक शेयर किन्न अब १० बुँदे स्वघोषणा अनिवार्य
वि.सं.२०८३ असार ५ शुक्रवार ०८:५१
shares

बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर किन्नु अब पहिलेजस्तो सामान्य कारोबार रहेन। नेपाल राष्ट्र बैंकले यस विषयमा नयाँ नियम लागू गरेपछि ठूलो परिमाणमा संस्थापक शेयर खरिद गर्न चाहने जोसुकैले आफ्नो व्यक्तिगत, कानुनी र आर्थिक जीवनको पूरा विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने भएको छ।
बैंक तथा वित्तीय संस्था नियमन विभागले एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै “क”, “ख” र “ग” वर्गका सबै बैंक तथा वित्तीय संस्थामा लागू हुने गरी नयाँ सर्कुलर जारी गरेको हो। शेयर किन्ने वास्तविक धनीले पारिवारिक पृष्ठभूमिदेखि स्वदेश र विदेशमा रहेको वित्तीय आचरणसम्मका १० बुँदे स्वघोषणा पेश गर्नुपर्नेछ।
खरिदकर्ताले नेपाल वा विदेशमा कुनै आपराधिक कसूरमा आफू मुछिएको छ वा छैन, कुनै मुद्दामामिला वा अनुसन्धानको भुमरीमा परेको छ वा छैन र कर्जा कालोसूचीमा नाम दर्ज भएको छ वा छैन — यी सबै कुरा लुकाउन पाइनेछैन। अदालतको आदेशबमोजिम बुझाउनुपर्ने कुनै सरकारी बाँकी रहेको छ भने त्यो पनि घोषणा गर्नु अनिवार्य हुनेछ।
विदेशमा सम्पत्ति भएका वा कुनै सम्पत्तिको वास्तविक हिताधिकारी रहेका नेपाली नागरिकले त्यसको पूरा ब्यहोरा खुलाउनुपर्नेछ। शेयर खरिदबाट स्वार्थको द्वन्द्व उत्पन्न हुन सक्ने कुनै अवस्था छ भने त्यो पनि अगाडि नै सार्वजनिक गर्नुपर्नेछ।
पछिल्लो समय संस्थापक शेयरको आडमा बैंकिङ क्षेत्रमा आफ्नो पकड जमाउने र वास्तविक स्वामित्व लुकाएर शेयर हस्तान्तरण गर्ने प्रवृत्ति बढेको भन्ने गुनासो उठिरहेको थियो। राष्ट्र बैंकको यो नयाँ कदमले त्यस्तो अपारदर्शी अभ्यासमा लगाम लगाउने अपेक्षा गरिएको छ।















