Dhulikhel Eco Banner new

रसुवा बाढी प्रभावितका लागि NAIMA ले ५० लाख रुपैयाँ सहयोग गर्ने

195
shares

काठमाडौं, १४ भदौ  ।नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

NAIMA ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै संस्थाले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

विपद्को सुरुवातदेखि नै NAIMA का सदस्य कम्पनीहरूले राहत तथा उद्धार कार्यमा सहयोग गर्दै आएको संस्थाले जनाएको छ। सदस्य कम्पनीहरूले आर्थिक सहयोगसँगै यातायात, लजिस्टिक तथा अन्य आवश्यक स्रोत उपलब्ध गराएर प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा योगदान पुर्‍याइरहेका छन्।

NAIMA अध्यक्ष ऋतु सिंह वैद्यले संस्थाले आफ्नो स्थापनाकालदेखि नै विपद् तथा आपतकालीन अवस्थामा सरकार र प्रभावित समुदायलाई सहयोग गर्दै आएको बताउनुभयो।

“यस्तो कठिन समयमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि साझा दायित्व हो। यस विपद्मा सहयोग र सहकार्यका लागि तत्परता देखाउनु भएका हाम्रा सम्पूर्ण सदस्य कम्पनीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु,” अध्यक्ष वैद्यले भन्नुभयो।

उहाँले सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यबाट मात्रै राहत तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउन सकिने बताउनुभयो।

यसैबीच, NAIMA ले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा खटिरहेका सरकारी निकाय, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा विभिन्न संघ–संस्थाप्रति सम्मान व्यक्त गरेको छ।

संस्थाले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका सम्पूर्ण सरोकारवालालाई आफ्नो क्षमता र उपलब्ध स्रोतअनुसार बाढी प्रभावित नागरिकको सहयोगमा हातेमालो गर्नसमेत आग्रह गरेको छ।