जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग
वि.सं.२०८३ भदौ १४ आइतवार १३:५१
shares

काठमाडौं, १४ भदौ । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज ले देशभर हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ।
सरकारले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेको राहत, पुनःस्थापना र पुनःउत्थानका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जावलाखेल ग्रुपले जनाएको छ।
प्राकृतिक विपद्बाट प्रभावित समुदायप्रति आफ्नो ऐक्यबद्धता जनाउँदै जावलाखेल ग्रुपले बाढीका कारण ज्यान गुमाएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, विपद्का कारण कठिन परिस्थितिको सामना गरिरहेका सम्पूर्ण व्यक्ति तथा समुदायप्रति हार्दिक सहानुभूति प्रकट गरेको छ।
जावलाखेल ग्रुपले प्राकृतिक विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्दै आएको र सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा पुनःस्थापनाका कार्यमा निरन्तर साथ दिँदै आएको जनाएको छ।
ग्रुपले यस सहयोगमार्फत विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सरकारका प्रयासलाई थप बल पुग्ने विश्वास व्यक्त गरेको छ।


















