Dhulikhel Eco Banner new

मेरोमाइक्रोफाइनान्सले बाढीपीडितका लागि १४ लाख ५५ हजार सहयोग गर्ने

1.83K
shares

काठमाडौं, १८ भदौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १४ लाख ५५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

देशका विभिन्न जिल्लामा आएको प्राकृतिक विपद्का कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै संस्थाले मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।

प्राकृतिक विपद्का कारण संस्थाको केन्द्रीय कार्यालय बट्टार, नुवाकोटसहित ५ वटा शाखा कार्यालयसमेत प्रत्यक्ष रूपमा प्रभावित भएको संस्थाले जनाएको छ। विपद्का कारण संस्थाका सदस्यहरू, सदस्यका परिवारजन, कर्मचारी तथा उनीहरूका परिवारलगायत अन्य सरोकारवालाले भोग्नुपरेको क्षतिप्रति संस्थाले दुःख व्यक्त गरेको छ।

प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल सरकारको राहत तथा उद्धार कोषमा सहयोग गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ।

संस्थाका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ लाख ५५ हजार रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय भएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

विपद्को यस कठिन परिस्थितिमा प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सक्रिय रूपमा खटिएका सरकार, स्थानीय तह, सुरक्षा निकाय, विभिन्न संघसंस्था, स्वयंसेवक तथा सम्पूर्ण सहयोगी हातहरूप्रति संस्थाले आभार व्यक्त गरेको छ।