Dhulikhel Eco Banner new

रसुवा बाढीपीडितप्रति श्रद्धाञ्जलि तथा ऐक्यबद्धता कार्यक्रम सम्पन्न

806
shares

ओस्लो, नर्वे,। रसुवालगायत नेपालका विभिन्न स्थानमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूप्रति समवेदना प्रकट गर्दै, पीडितहरूको शीघ्र उद्धार तथा राहतको कामना र दिवंगत आत्माहरूको चिरशान्तिको प्रार्थनासहित सेप्टेम्बर २ तारिख ओस्लोमा दीप प्रज्वलन तथा मौनधारण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल–तिब्बत सीमाक्षेत्रबाट सुरु भएको विनाशकारी बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै एनआरएनए एनसीसी नर्वेको नेतृत्व तथा पहलमा जेएसएस, ओएनएफ, नेपाली जनप्रगतिशील मञ्च, रागोस, प्रवासी नेपाली सम्पर्क विभाग, नोर्गे नेपाल फरेनिंग, एन सि आई डी, नेस्को, एच एच एन, मगर समाज, तामाङ समाज, नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वे तथा नर्वेमा रहेका अन्य नेपाली समुदायहरूको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।

कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नेपालीहरूप्रति श्रद्धाञ्जलि अर्पण गरे। साथै, बेपत्ता नागरिकहरूको शीघ्र खोज तथा उद्धार र प्रभावित परिवारहरूको उचित राहत तथा पुनःस्थापनाका लागि प्रार्थना गर्दै पीडितहरूप्रति ऐक्यबद्धता व्यक्त गरिएको थियो।

सेप्टेम्बर ६ मा संसद् भवनअगाडि दोस्रो श्रद्धाञ्जलि कार्यक्रम

यसैबीच, सेप्टेम्बर ६ तारिख, आइतबार साँझ ६ बजे ओस्लोस्थित संसद् भवनअगाडि दोस्रोपटक दीप प्रज्वलन तथा मौनधारण कार्यक्रम आयोजना हुने भएको छ।

सेप्टेम्बर २ को कार्यक्रममा उपस्थित हुन नसकेका नेपाली समुदायका सदस्यहरूलाई समेत सहभागी हुने अवसर प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको आयोजकहरूले जनाएका छन्।

त्यसैगरी, नेपालका शुभचिन्तक तथा नर्वेका दिवंगत राजा हेराल्ड पाँचौँको स्मृतिमा समेत मैनबत्ती प्रज्वलन गरी मौनधारणमार्फत श्रद्धाञ्जलि अर्पण गरिने कार्यक्रम रहेको आयोजकहरूले बताएका छन्।

नर्वेमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई पीडित नेपालीहरूप्रति आफ्नो ऐक्यबद्धता र मानवीय संवेदना प्रकट गर्न आयोजक संस्थाहरूले हार्दिक अनुरोध गरेका छन्।

यस दुःखद् घडीमा विदेशमा रहेका नेपालीहरूले पनि आफ्नो स्थानबाट मानवीय सहयोग, सहकार्य र ऐक्यबद्धता प्रदर्शन गरिरहेका छन्।