Dhulikhel Eco Banner new

पहिलो वित्तीय साक्षरता राष्ट्रिय सम्मेलन सम्पन्न, अभियान्ताहरुलाई सम्मान

1.73K
shares

काठमाडौं, २ असोज । वित्तीय साक्षरताको आवश्यकता, यसको प्रभाव र वित्तीय समावेशीकरणका विभिन्न पक्षमा बहस गर्दै राष्ट्रिय वित्तीय साक्षरता सम्मेलन तथा अवार्ड २०२६ सम्पन्न भएको छ ।

अर्थप्रधान अनलाइनपत्रिका केटिएम भ्वाइस डटकमको आयोजनामा काठमाडौंको गौशालास्थित बेस्ट वेस्टर्न प्लसमा आयोजित सम्मेलनमा कमर्सीयल बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त, नियामक निकाय, निजी क्षेत्र, सञ्चार क्षेत्र तथा वित्तीय साक्षरतासँग सम्बन्धित विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि डा. गुणाकर भट्टले वित्तीय साक्षरता आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै नागरिकको वित्तीय क्षमता अभिवृद्धि गर्न राज्य, वित्तीय संस्था र अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए ।

अर्थसचिव डा. घनश्याम उपाध्यायले वित्तीय साक्षरता सबैका लागि महत्वपूर्ण विषय भएको बताए । सम्मेलनमा नेपाल राष्ट्र बैंकका प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका नेतृत्वकर्ता, विज्ञ तथा सरोकारवालाहरूले वित्तीय साक्षरताको वर्तमान अवस्था, चुनौती र आगामी प्राथमिकताका विषयमा धारणा राखेका थिए ।

सम्मेलनअन्तर्गत आयोजित पहिलो प्यानल छलफलमा बसन्तराज लम्सालको सहजीकरणमा भएको छलफलमा डा. प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, डा. भरतसिंह थापा लगायतले वित्तीय साक्षरता र दिगो आर्थिक वृद्धिबीचको सम्बन्धबारे धारणा राखेका थिए ।

त्यस्तै, दोस्रो प्यानलमा वित्तीय साक्षरता, वित्तीय प्रणाली, डिजिटल वित्तीय सेवा तथा वित्तीय अपराध नियन्त्रणसँग सम्बन्धित विषयमा छलफल भएको थियो। विशेषगरी नागरिकको वित्तीय ज्ञान अभिवृद्धि गर्दै सुरक्षित वित्तीय व्यवहार विकास गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।

सम्मेलनमा लघुवित्त संस्थाहरूले वित्तीय साक्षरता विस्तारमा निर्वाह गर्न सक्ने भूमिकाबारे समेत चर्चा गरिएको थियो। ग्रामीण तथा वित्तीय पहुँचबाट बाहिर रहेका नागरिकसम्म वित्तीय सेवा पु¥याउने क्रममा वित्तीय ज्ञान र व्यवहार परिवर्तनलाई पनि सँगसँगै अघि बढाउनुपर्नेमा वक्ताहरूको जोड थियो ।

विभिन्न संस्था तथा व्यक्तिलाई वित्तीय साक्षरता अवार्ड

सम्मेलनकै अवसरमा वित्तीय साक्षरता प्रवद्र्धनमा योगदान पु¥याएका विभिन्न बैंक तथा वित्तीय संस्था, डिजिटल वित्तीय सेवा प्रदायक तथा व्यक्तित्वहरूलाई वित्तीय साक्षरता अवार्ड प्रदान गरिएको थियो ।

संस्थागततर्फ वाणिज्य बैंकहरु मध्येबाट ग्लोबल आइएमई बैंक, विकास बैंकहरु मध्येबाट गरिमा विकास बैंक, फाइनान्स कम्पनीहरु मध्येबाट गुडविल फाइनान्स र लघुवित्तहरु मध्येबाट ग्लोबल आइएमई लघुवित्तलाई सर्वोत्कृत वित्तीय साक्षरता अवार्ड प्रदान गरिएको थियो ।

 

यसैगरी नेपाल क्लियरिङ हाउसलाई डिजिटल साक्षरतामा उत्कृष्ट संस्थाका रुपमा अवार्ड प्राप्त गरेको छ । संस्थाले सञ्चालन गरेका वित्तीय तथा डिजिटल साक्षरता अभियान र त्यसको प्रभावका आधारमा सम्मान गरिएको थियो ।

व्यक्तिगत तर्फ वित्तीय साक्षरता सर्वोत्कृष्ट सम्मानका रुपमा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सम्मानित भएका छन् भने वित्तीय साक्षरता अभियान्ता भुवन दाहाललाई सर्वोत्कृष्ट वित्तीय साक्षरता प्रशिक्षक अवार्ड प्रदान गरिएको छ । राष्ट्र बैंककै सहप्रवक्ता तथा सूचना अधिकारी सुधा श्रेष्ठलाई यसवर्षको वित्तीय साक्षरता प्रशिक्षकका रुपमा सम्मान अवार्ड प्रदान गरिएको छ ।

त्यस्तै, वित्तीय साक्षरता, वित्तीय पत्रकारिता तथा नागरिक सचेतना अभिवृद्धिमा योगदान दिने बैंकिङखबरका प्रधानसम्पादक माधव निर्दोषलाई अवार्ड प्रदान गरिएको छ । सुदुरपश्चिमका भिमबहादुर केसीलाई उदयीमान उद्यमशीलता अवार्डबाट सम्मान गरिएको छ ।

अवार्डका लागि संस्थाहरू तथा कार्यक्रमहरूको मूल्यांकन गर्दा कार्यक्रमको प्रभाव, भौगोलिक पहुँच, लाभग्राहीको संख्या, नवीनता तथा डिजिटल साक्षरता, ग्रामीण तथा पहुँचविहीन समुदायमा पुगेको प्रभाव र मापनयोग्य उपलब्धिजस्ता आधारलाई समेटिएको केटिएम भ्वाइसका अध्यक्ष तथा प्रधानसम्पादक रोयल आचार्यले जानकारी दिए ।

प्रधान सम्पादक आचार्यले वित्तीय साक्षरता सम्मेलन कुनै एक दिनको कार्यक्रम नभई विगतदेखि सञ्चालन हुँदै आएको अभियानको निरन्तरता भएको बताए । उनले वित्तीय साक्षरताको बहसलाई काठमाडौंमा मात्र सीमित नराखी ग्रामीण क्षेत्रमा समेत पु¥याउने उद्देश्यले केटिएम भ्वाइसले विगतदेखि विभिन्न जिल्लामा कार्यक्रम सञ्चालन गर्दै आएको स्मरण गरे।

उदयपुरको बेलका, सप्तरीको सप्तकोशी फत्तेपुरदेखि काभ्रे, नुवाकोट, पाल्पा, बागलुङ, पर्वत, नेपालगञ्ज, जाजरकोट, रुकुम, कञ्चनपुर र डोटीलगायतका क्षेत्रमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।