इतिहासकै शक्तिशाली ‘एल निनो’ को त्रास: विश्वभर चरम खाद्य सङ्कटको चेतावनी, नेपालमा पनि महँगीको जोखिम
वि.सं.२०८३ असोज ८ बिहीवार ०८:२७
shares

काठमाडौं । जलवायु परिवर्तनको उच्च जोखिमसँग जुधिरहेको विश्वमा इतिहासकै सबैभन्दा शक्तिशाली मौसमी चक्र ‘एल निनो’ को प्रभाव सुरु भएको छ। प्रशान्त महासागरको तापक्रममा आएको अस्वाभाविक वृद्धिसँगै उत्पन्न हुने यस प्राकृतिक चक्रले एसियालगायत विश्वभर चरम खडेरी र गम्भीर खाद्य सङ्कट निम्त्याउने चेतावनी वैज्ञानिकहरूले दिएका छन्। अमेरिकी जलवायु एजेन्सी (नोआ) का अनुसार सन् १९५० यताकै सबैभन्दा विध्वंसकारी हुने अनुमान गरिएको यस एल निनोले आगामी डिसेम्बर महिनामा उग्र रूप लिनेछ।
एल निनोका कारण व्यापारिक हावाको दिशा उल्टिँदा दक्षिण अमेरिकामा भारी वर्षा हुन्छ भने एसिया र अस्ट्रेलियामा मनसुन कमजोर भई भीषण खडेरी पर्छ। यसको प्रत्यक्ष असर विश्वको भान्सा र अर्थतन्त्रमा पर्ने निश्चित छ। संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले यो सङ्कटका कारण सन् २०२७ सम्ममा थप करिब ५ करोड मानिस भोकमरीको चपेटामा पर्ने आकलन गरेको छ। विशेषगरी विश्वका प्रमुख धान उत्पादक राष्ट्रहरू— भारत, थाइल्यान्ड र भियतनाममा वर्षा नहुँदा उत्पादनमा ठूलो गिरावट आउने जोखिम बढेको छ। त्यस्तै, विश्वको ८५ प्रतिशत पाम तेल आपूर्ति गर्ने इन्डोनेसिया र मलेसियामा खडेरी र जङ्गलको डढेलोले कृषि क्षेत्र नराम्ररी प्रभावित भएको छ।
मौसमको यो अस्वाभाविक परिवर्तनले जलस्रोत र जनजीवनमा समेत गम्भीर धक्का दिएको छ। इन्डोनेसियाको राजधानी जकार्तामा जलाशयहरू सुक्दै जाँदा खानेपानीको हाहाकार मच्चिन थालेको छ भने एसियाकै प्रमुख मेकङ नदीको जलस्तर घट्दा मत्स्यपालनमा निर्भर करोडौँ मानिसको जीविकोपार्जन सङ्कटमा परेको छ। अन्तर्राष्ट्रिय वित्तीय संस्था गोल्डम्यान स्याक्सका अनुसार कृषि उत्पादनमा आउने यस ह्रासले विश्व बजारमा चामल, गहुँ, खानेतेल लगायतका अत्यावश्यक खाद्यान्नको मूल्य १५ प्रतिशतभन्दा बढीले अकासिने छ।
विश्वव्यापी रूपमा खाद्यान्न उत्पादन घट्दा र मूल्य बढ्दा नेपालजस्तो आयातमुखी अर्थतन्त्र भएको देश यसको प्रत्यक्ष र गम्भीर मारमा पर्नेछ। वार्षिक अर्बौँ रुपैयाँको चामल र खानेतेल आयात गर्ने नेपालका लागि यो गम्भीर चेतावनी हो। स्रोत मुलुकहरूले आन्तरिक माग धान्न निर्यातमा रोक लगाए वा भन्सार बढाएमा नेपालमा खाद्य महँगीले सीमा नाघ्ने निश्चित छ। तसर्थ, सम्भावित विपद् र महँगीबाट जोगिन सरकारले अहिल्यैदेखि खाद्यान्नको पर्याप्त भण्डारण, वैकल्पिक सिँचाइको व्यवस्था र स्थानीय उत्पादन बढाउनेतर्फ पूर्वतयारी थाल्नुपर्ने विज्ञहरूको सुझाव छ।

















