सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा जोड्न स्वास्थ्य मन्त्रालयको पत्राचार
वि.सं.२०८३ असोज २८ बुधवार १६:३४
shares

काठमाडौँ,२८ असोज । सरकारले सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य सङ्घीय निकायमा कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पहल थालेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्बन्धित निकायलाई पत्राचार गर्दै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो ।
मन्त्रालयले स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्थाअनुसार कर्मचारीलाई बीमाको दायरामा ल्याउन सम्बन्धित अस्पताल, प्रतिष्ठान र सरकारी निकायलाई पहल गर्न भनेको छ ।
सरकारी सेवामा कार्यरत कर्मचारीलाई समेत स्वास्थ्य बीमा कार्यक्रममा समेट्ने उद्देश्यले मन्त्रालयले यो कदम चालेको हो ।
स्वास्थ्य बीमा कार्यक्रमले बिरामी हुँदा उपचारमा लाग्ने खर्चको आर्थिक भार कम गर्न सहयोग गर्छ । यस कार्यक्रममार्फत बीमितले तोकिएका स्वास्थ्य संस्थामा नियमअनुसार उपचार सेवा लिन सक्छन् ।
स्वास्थ्य बीमा बोर्डका अनुसार बीमा कार्यक्रममा आबद्ध परिवारले वार्षिक योगदान रकम तिरेर तोकिएको सीमाभित्र उपचार सुविधा लिन सक्छन् । तर कर्मचारीका हकमा बीमा आबद्धताको प्रक्रिया, योगदान रकम कसले व्यहोर्ने र सेवा कहिलेदेखि लागू हुने भन्ने विषयमा मन्त्रालयको पत्राचारमा विस्तृत विवरण खुलाइएको छैन ।
सरकारको यो पहल कार्यान्वयनमा आएमा सरकारी स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई पनि स्वास्थ्य बीमाको दायरामा ल्याउने बाटो खुल्नेछ ।


















