लगानीकर्तालाई मागेभन्दा बढी सहुलियत: तैपनि बजार किन उकालो लागेन?
बजार नबढ्नुको एउटा प्रमुख कारण नीतिगत अस्थिरता र बजारमा बेलाबेलामा फैलिने त्रास
वि.सं.२०८३ असोज २३ शुक्रवार ०७:५६
shares

सेयर बजारका लगानीकर्ताले पुँजीगत लाभकर (सीजीटी) पुरानै दरमा फर्काउन माग गर्दै केही समयअघि ठूलै असन्तुष्टि पोखे। तर, सरकारले उनीहरूको मागभन्दा पनि एक कदम अघि बढेर करको दर झनै घटाइदियो। आम लगानीकर्ताको भाषामा भन्दा सरकारले ‘दूध माग्दा खीर’ नै दियो। यति ठूलो सहुलियत पाउँदा पनि सेयर बजार (नेप्से) मा भने अपेक्षित उत्साह देखिन सकेको छैन। कर घटेको खुसियालीमा बजारले नयाँ उचाइ चुम्ने अपेक्षा गरिए पनि नेप्सेको पारो भने सुस्त नै छ। आखिर बजार किन बढ्न सकिरहेको छैन त?
विगतको तथ्याङ्कलाई फर्केर हेर्दा, सेयर बजारमा अल्पकालीन लगानीकर्ताका लागि ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताका लागि ५ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था थियो। तर, बजेटमार्फत सरकारले यसलाई बढाएर क्रमशः १० प्रतिशत र ७.५ प्रतिशत पुर्यायो। यसको चौतर्फी विरोध र बजारमा आएको निरन्तरको गिरावटपछि सरकार पछि हट्न बाध्य भयो। अचम्मको कुरा त के छ भने, सरकारले करलाई पुरानै बिन्दुमा मात्र फर्काएन, अझै घटाएर अल्पकालीनलाई ५ प्रतिशत र दीर्घकालीनलाई ३.७५ प्रतिशत कायम गरिदियो। यो कदमले बजारमा एकाएक उछाल आउने अपेक्षा गरिएको थियो, तर यथार्थमा त्यसो हुन सकेन।
बजार नबढ्नुको एउटा प्रमुख कारण नीतिगत अस्थिरता र बजारमा बेलाबेलामा फैलिने त्रास हो। पछिल्लो समय सेयर बेच्नुभन्दा १५ दिनअघि नै पूर्वजानकारी दिनुपर्ने व्यवस्था लागु हुन लागेको भन्ने खबरले बजारमा ठूलो अन्योल सिर्जना गर्यो। यस्ता अव्यावहारिक र नियन्त्रणमुखी नीतिहरू आउन सक्ने डरले आम लगानीकर्ताको मनोबल गिराएको छ। यद्यपि, यस्ता विवादास्पद व्यवस्थाहरू खारेज हुने वा लागु नहुने स्पष्ट सन्देश नियामकबाट जाने हो भने बजारले सकारात्मक गति लिन सक्ने विश्लेषकहरू बताउँछन्।
करको दर घट्नु मात्र बजार बढ्ने ग्यारेन्टी होइन भन्ने कुरा वर्तमान अवस्थाले पुष्टि गरेको छ। बजार बढ्नका लागि सरकार र नियामक निकायप्रति लगानीकर्ताको अटुट विश्वास हुनु जरुरी छ। अहिले लगानीकर्तामा सरकारका नीतिहरू जुनसुकै बेला परिवर्तन हुन सक्छन् भन्ने गहिरो त्रास छ। आज कर घटाएको सरकारले भोलि बजार बढ्दा फेरि अर्कै नीति ल्याएर कस्न सक्छ भन्ने मनोवैज्ञानिक सन्त्रासले लगानीकर्तालाई ‘पर्ख र हेर’ को अवस्थामा राखेको छ। सरकारप्रतिको यही विश्वासको कमीले गर्दा लगानीकर्ताले निर्धक्क भएर पुँजी खन्याउन सकिरहेका छैनन्।
अर्कोतर्फ, बजारको प्राविधिक र संरचनागत पक्षलाई पनि नजरअन्दाज गर्न मिल्दैन। पुँजी बजारका ठूला खेलाडीहरू अहिले पनि ‘एक्युमुलेसन’ कै चरणमा रहेको अनुमान गर्न सकिन्छ। जबसम्म ठूला लगानीकर्ताहरूले तल्लो बिन्दुमा पर्याप्त सेयर उठाइसक्दैनन्, तबसम्म उनीहरूले बजारलाई माथि जान दिँदैनन्। त्यसैले, कर घटेको सकारात्मक समाचारको प्रभावलाई निस्तेज पारेर अझै सस्तो मूल्यमा सेयर बटुल्ने रणनीतिमा ठूला खेलाडीहरू सक्रिय रहेको बजार जानकारहरूको बुझाइ छ।
समग्रमा भन्नुपर्दा, सेयर बजार बढ्नका लागि कुनै एउटा मात्र पक्ष सकारात्मक भएर पुग्दैन। बजारमा पर्याप्त तरलता , ब्याजदरको अनुकुल अवस्था र नयाँ लगानीकर्ताको प्रवेशले मात्र वास्तविक माग सिर्जना गर्छ। करको दर घट्नु एउटा सकारात्मक पाटो पक्कै हो, तर बजारको दिगो वृद्धिका लागि नीतिगत स्थिरता, तरलताको सहजता र सरकारप्रतिको भरोसा नै प्रमुख आधार हुन्। जबसम्म यी आधारभूत तत्वहरूमा सुधार आउँदैन र लगानीकर्ताको मनोबल उच्च हुँदैन, तबसम्म सरकारले ‘दूध माग्दा खीर’ नै दिए पनि बजारले त्यसको वास्तविक स्वाद लिन सक्नेछैन।

















