अमेरिकाले इरानबारे ‘सजिलो वा कठिन बाटो’ रोजेर निर्णय गर्ने
वि.सं.२०८३ असोज १८ आइतवार १३:२३
shares

काठमाडौं, १८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबारे अमेरिकाले चाँडै निर्णय लिने बताएका छन् । उनले इरानसँगको विषय ‘सजिलो वा कठिन बाटो’ मध्ये कुनै एकबाट टुंगिने संकेत गरेका छन् ।
शनिबार ह्वाइट हाउस बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले भने, ‘इरानबारे मैले निर्णय गर्नेछु । इरान ध्वस्त भएको छ । अब प्रश्न यति मात्रै हो—यो सजिलो बाटो हुनेछ वा कठिन बाटो ।’
ट्रम्पले इरानसम्बन्धी आगामी कदमबारे भने थप विवरण खुलाएनन् । शुक्रबार पनि उनले आफ्नो रणनीति सार्वजनिक गर्दा ठूलो समाचार बन्ने भन्दै योजनाबारे खुलासा गर्न अस्वीकार गरेका थिए । उनले इरानको अवस्था राम्रो नरहेको दाबी गरेका थिए ।
यसअघि टेक्सासमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको युद्ध ‘धेरै छिट्टै’ अन्त्य हुने बताएका थिए । युद्ध अन्त्य भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा घट्ने उनको भनाइ थियो ।
ट्रम्पले इरानमा ३०१ प्रतिशत मुद्रास्फीति रहेको, आर्थिक अवस्था कमजोर भएको तथा इरानको सैन्य क्षमतामा ठूलो क्षति पुगेको दाबी गरेका छन् । उनले इरानले द्वन्द्व अन्त्य गर्ने विषयमा निर्णायक विकल्प रोज्नुपर्ने बताएका छन् ।
इरानलाई आणविक क्षमता हासिल गर्नबाट रोक्नु अमेरिकी नीतिको प्रमुख प्राथमिकतामध्ये एक रहँदै आएको छ। ट्रम्पको पछिल्लो भनाइसँगै अमेरिकाले इरानविरुद्ध आगामी दिनमा कस्तो कदम चाल्छ भन्ने विषयमा चासो बढेको छ ।

















