सुनितामी परियारसँग अक्टोबर ४ मा ओस्लोमा दशैं विशेष सांस्कृतिक साँझ
नेपाली गीत–संगीत, सांस्कृतिक प्रस्तुति र परिकारको स्वाद
वि.सं.२०८३ असोज १७ शनिवार ०८:३०
shares

ओस्लो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, युरोप शाखाको आयोजनामा आगामी अक्टोबर ४ गते ओस्लोस्थित नेपाल हाउस रेस्टुरेन्टमा दशैं विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका सुनितामी परियारसँगै नर्वेमा रहेका नेपाली कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, युरोप शाखाका अध्यक्ष सुभास पुन, पूर्वअध्यक्ष भगवान भुजेल, शाखाका पदाधिकारी इमानसिंह बुढा, मदन बेलबासे र रोनक थापासहित चर्चित कलाकार विष्णु क्षेत्रीलगायतको सहभागिता रहनेछ।
प्रवासमा नेपाली मौलिक गीत–संगीत, कला, संस्कृति र परम्परालाई निरन्तरता दिनुका साथै संगीतका माध्यमबाट नेपाली समुदायबीच एकता र आत्मीयता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
कार्यक्रममा नेपाल हाउस रेस्टुरेन्टले पछिल्लो समय ग्राहकको रोजाइमा पर्न सफल नेपाली परिकार मोमो, छोयला र पानीपुरीलगायतका परिकार तथा कोरियाली खानाको स्वादसमेत उपलब्ध गराउनेछ। सहभागीहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिबाट मनोरञ्जन लिन सक्नेछन्।
कार्यक्रम अक्टोबर ४ गते दिउँसो ४ बजेदेखि साँझ ९ बजेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ।
कार्यक्रम विवरण :
स्थान: नेपाल हाउस रेस्टुरेन्ट, ओस्लो
मिति: अक्टोबर ४, आइतबार
समय: दिउँसो ४ बजेदेखि साँझ ९ बजेसम्म
आयोजक: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, युरोप शाखा
प्रवेश: निःशुल्क

















