Dhulikhel Eco Banner new

विकास बोर्ड अध्यक्षका लागि १२ प्रतिस्पर्धी, जेनिश पहारी पनि मैदानमा

754
shares

काठमाडौं, १६ असोज । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन्। आवेदन दिनेमा फिल्मकर्मी तथा मनोरञ्जन क्षेत्रसँग जोडिएका विभिन्न व्यक्तिसँगै जेनिश पहारी श्रेष्ठ पनि छिन्।

मन्त्रालयका अनुसार अध्यक्ष पदका लागि निशा अधिकारी, मनिष पण्डित, नरेशकुमार केसी, नरेशकुमार पौड्याल, जेनिश पहारी श्रेष्ठ, सुवास कोइराला, दीपा पाण्डे बस्नेत, जयन्ती ओझा जया, डम्मरबहादुर बुढाथोकी, हीराप्रसाद सेती, अमरदीप सापकोटा र भगवतीकुमारी मैनाली उप्रेतीले आवेदन दिएका छन्।

अध्यक्ष पदका लागि ३० वर्ष उमेर पूरा गरेको र ६५ वर्ष ननाघेको हुनुपर्नेछ। न्यूनतम शैक्षिक योग्यता स्नातक तोकिएको छ। फिल्म उद्योगको स्थापना, विकास, संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा कम्तीमा १० वर्ष काम गरेको अनुभव पनि आवश्यक पर्ने व्यवस्था छ।

अध्यक्ष छनोटका लागि मन्त्रालयले सचिव राजेन्द्रकुमार पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। कार्यवाहक अध्यक्ष रविलाल शर्मा र फिल्मकर्मी अशोक शर्मा समितिका सदस्य छन्। समितिले आवेदनबाट सर्टलिस्ट तयार गरी तीन जनाको नाम सिफारिस गर्नेछ। अन्तिम नियुक्ति मन्त्रिपरिषद्बाट हुनेछ।

प्रतिस्पर्धामा रहेकी जेनिश पहारी श्रेष्ठले भने आफ्नो एक दशकभन्दा लामो फिल्म तथा मनोरञ्जन क्षेत्रको अनुभवलाई अध्यक्ष पदका लागि आधारका रूपमा प्रस्तुत गरेकी छन्।

उनको व्यावसायिक अनुभव फिल्म वितरण, प्रदर्शन, मार्केटिङ, व्यवसाय विकास, कन्टेन्ट अधिग्रहण तथा अन्तर्राष्ट्रिय सहकार्यसम्म रहेको बताइएको छ। अमेरिकामा स्नातक तथा स्नातकोत्तर तहको अध्ययन गरेकी पहारी कानुन व्यवसायमा समेत संलग्न रहेकी छन्।

फिल्म उद्योगसँग सम्बन्धित व्यावसायिक अनुभव र कानुनी तथा संस्थागत ज्ञानलाई एकसाथ प्रयोग गर्न सक्ने आफ्नो क्षमता रहेको पहारीको दाबी छ। उनका अनुसार अन्तर्राष्ट्रिय फिल्म बजार तथा विभिन्न विदेशी फिल्मकर्मी, निर्माता र वितरकसँगको सम्पर्कले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने सम्भावनाबारे अनुभव दिएको छ।

सरकार, नीति–निर्माता, फिल्म क्षेत्रका सरोकारवाला तथा अन्तर्राष्ट्रिय साझेदारबीच समन्वय गर्दै उद्योगको दीर्घकालीन विकासमा काम गर्ने उद्देश्यसहित आफू अध्यक्ष पदको प्रतिस्पर्धामा रहेको पहारीले बताएकी छन्।