Dhulikhel Eco Banner new

जोखिम मोलेर उद्धारमा सक्रिय प्रहरी निरीक्षक केसी

962
shares

काठमाडौं, १३ असोज । रौतहटको मौलापुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत केसी पछिल्लो समय विपद्का घटनामा सक्रियताका कारण चर्चामा आएका छन्। बाढी तथा नदी कटानका घटनामा सुरक्षाकर्मी परिचालनसँगै आफैं जोखिम मोलेर उद्धार तथा नियन्त्रण कार्यमा खटिँदै आएका केसीले मंगलबार बिहान लालबकैया नदीमा डुबिरहेकी एक महिलाको सकुशल उद्धार गरेका छन्।

मौलापुर नगरपालिका (४ स्थित लालबकैया नदीको पुलदेखि करिब २०० मिटर तल दक्षिणतर्फ मंगलबार बिहान करिब ५ः४० बजे माधवनारायण नगरपालिका (१ दिपहीटोलकी करिब ३५ वर्षीया ललिता देवी पासवान डुबिरहेको अवस्थामा फेला परेकी थिइन्। स्थानीयवासीबाट घटनाबारे जानकारी पाएलगत्तै मर्निङ वाकमा रहेका प्रहरी निरीक्षक केसी घटनास्थल पुगेका थिए।

उद्धारका लागि तत्काल सुरक्षाकर्मी तथा अन्य साधन उपलब्ध नभएको अवस्थामा केसी आफैं नदीमा प्रवेश गरी आफ्नो ज्यानको समेत प्रवाह नगरी जोखिम मोलेर महिलालाई सकुशल बाहिर निकालेका थिए। घटनापछि उनको उद्धार कार्यको भिडियो तथा तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि केसीको सक्रियताको चर्चा बढेको छ।

लालबकैया नदीमा जोखिम मोलेर उद्धार गरेको यो केसीको पहिलो घटना भने होइन। यसअघि नदीमा आएको बाढीका कारण तटबन्ध तीव्र रूपमा कटान भइरहेका बेला पनि उनले सुरक्षाकर्मीलाई परिचालन गर्दै नियन्त्रण प्रयासको नेतृत्व गरेका थिए। कटान बढेपछि रातिको समयमा समेत घटनास्थल पुगेर सुरक्षाकर्मी तथा स्थानीयवासीसँगै बोरामा बालुवा भर्ने र जोखिमयुक्त क्षेत्रमा राख्ने कार्यमा उनी स्वयं सहभागी भएका थिए।

बाढी तथा नदी कटानका समयमा सुरक्षाकर्मीको परिचालन, स्थानीयवासीसँगको समन्वय र तत्काल उद्धारमा देखाएको सक्रियताका कारण प्रहरी निरीक्षक केसीको भूमिका स्थानीयस्तरमा चर्चामा आएको हो।

यसै क्रममा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले लालबकैया नदीको तटबन्ध तथा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा केसीको सक्रियताको प्रशंसा गरेका थिए।

विपद्का समयमा प्रहरीको नियमित जिम्मेवारीभन्दा बाहिर गएर जोखिमपूर्ण उद्धार तथा नियन्त्रण कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै स्थानीयवासीले समेत केसीको सक्रियताको प्रशंसा गरेका छन्।