नेदरल्याण्ड्समा विश्व एआई सम्मेलन हुँदै, नेपालबाट को–को हुँदैछन् सहभागी ?
वि.सं.२०८३ असोज १८ आइतवार १७:३५
shares

काठमाडौं, १६ असोज । कृत्रिम बुद्धिमत्ताको विकास, प्रयोग, नीति र भविष्यबारे विश्वव्यापी बहस गर्न आयोजना हुँदै आएको विश्व एआई सम्मेलन (World Summit AI) को १०औँ संस्करण नेदरल्याण्ड्समा सुरु हुँदैछ । विश्वका एआई विज्ञ, अनुसन्धानकर्ता, प्रविधि उद्यमी, नीति निर्माता, लगानीकर्ता तथा सञ्चारकर्मीहरूको जमघट हुने सम्मेलनमा नेपालबाट पनि विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरू सहभागी हुँदैछन् ।
अक्टोबर ७ र ८ (असोज २१ र २२) मा नेदरल्याण्ड्सको एम्स्टर्डमस्थित Taets Art & Event Park मा हुने सम्मेलनमा विश्वका ३० भन्दा बढी देशका ७० भन्दा बढी मिडिया आउटलेटका प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ । सम्मेलनको आधिकारिक वेबसाइटका अनुसार LinkedIn News, POLITICO, MIT Technology Review र Goodable लगायतका अन्तर्राष्ट्रिय मिडिया साझेदारसमेत सम्मेलनसँग जोडिएका छन् ।
नेपालबाट कान्तिपुर, रातोपाटी, नयाँ पत्रिका, केटिएम भ्वाइस डटकम लगायत आधा दर्जन मिडियाका प्रतिनिधि सम्मेलनमा सहभागी हुँदैछन् । केटिएम भ्वाइस डटकमबाट सम्पादक रोयल आचार्य, प्रेस प्रतिनिधिद्वय शंकर दाहाल र जनक भट्टराई सहभागी हुँदैछन् । केटिएम भ्वाइसका सम्पादक आचार्य इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)का केन्द्रीय अध्यक्ष तथा नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका अध्यक्ष समेत हुन् ।
आयोजकका अनुसार विश्व एआई सम्मेलनमा यस वर्ष १० हजारभन्दा बढी सहभागी, ३०० भन्दा बढी वक्ता, १० वटा ट्र्याक र १०० भन्दा बढी प्रदर्शक रहनेछन् । सम्मेलनमा एआई सुरक्षा, नयाँ प्रविधि, एआईको वास्तविक प्रयोग, नीति, अर्थतन्त्र तथा समाजमा कृत्रिम बुद्धिमत्ताको प्रभावलगायत विषयमा छलफल हुनेछन् ।
सन् २०१७ मा एम्स्टर्डमबाट सुरु भएको World Summit AI अहिले विश्वव्यापी एआई समुदायको महत्वपूर्ण जमघटका रूपमा स्थापित भएको आयोजकको दाबी छ । यस वर्षको सम्मेलनलाई ‘10 Years of Defining What’s Next’ नारासहित आयोजना गरिएको छ ।
सम्मेलनको उद्घाटन दुवै दिन बिहान ९ः३० बजेबाट हुनेछ । पहिलो दिन अक्टोबर ७ मा बिहान ७ः३० बजेदेखि ब्याज वितरण र ८ बजेबाट प्रवेश खुला गरिने आयोजकले जनाएको छ ।

















