Dhulikhel Eco Banner new

विश्व एआई सम्मेलन : एउटै छानामुनि सयौँ कम्पनीका नयाँ प्रयोग र सम्भावनाको प्रदर्शन

3.58K
shares

एम्स्टर्डम, नेदरल्यान्ड्स । कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा भइरहेका नयाँ प्रयोग, प्रविधि र व्यावसायिक सम्भावनालाई एउटै थलोमा हेर्न चाहनेका लागि नेदरल्यान्ड्समा जारी विश्व शिखर सम्मेलन एआई २०२६ प्रविधिको ठूलो मञ्च बनेको छ।

एम्स्टर्डमस्थित टेट्स कला तथा कार्यक्रम केन्द्रमा बुधबारदेखि सुरु भएको सम्मेलनको प्रदर्शनी कक्षमा विश्वका विभिन्न प्रविधि कम्पनीले आफ्ना कृत्रिम बुद्धिमत्तामा आधारित उत्पादन र सेवा प्रदर्शन गरिरहेका छन्। सम्मेलन अक्टोबर ७ र ८ मा आयोजना भइरहेको छ।
आयोजकका अनुसार यस वर्षको सम्मेलनमा १० हजारभन्दा बढी सहभागी, ३०० भन्दा बढी वक्ता र १०० भन्दा बढी प्रदर्शक सहभागी छन्।

स्टलैपिच्छे एआईको नयाँ संसार

प्रदर्शनी कक्षमा प्रवेश गर्नेबित्तिकै विभिन्न कम्पनीका आकर्षक स्टल, प्रविधिको प्रत्यक्ष प्रदर्शन र सहभागीको चहलपहल देखिन्छ।
व्यावसायिक कृत्रिम बुद्धिमत्ता, कृत्रिम बुद्धिमत्ता पूर्वाधार, स्वचालित प्रणाली, तथ्याङ्क, साइबर सुरक्षा, सफ्टवेयर विकास र उत्पादनात्मक कृत्रिम बुद्धिमत्तालगायत क्षेत्रमा काम गरिरहेका कम्पनीले आफ्ना प्रविधि प्रदर्शन गरिरहेका छन्।
सफ्टवेयरदेखि तथ्याङ्क व्यवस्थापनसम्म, कृत्रिम बुद्धिमत्ताका सहायक प्रणालीदेखि व्यवसायिक कामलाई स्वचालित बनाउने प्रविधिसम्म—प्रदर्शनीमा एआईका विविध रूप देख्न पाइन्छ।

ठूला कम्पनीदेखि नयाँ स्टार्टअपसम्म

प्रदर्शनीमा ठूला विश्वव्यापी प्रविधि कम्पनीसँगै नयाँ पुस्ताका कृत्रिम बुद्धिमत्ता स्टार्टअप पनि सहभागी छन्। एसएपी, एचपी, मिस्ट्राल, भीएमवेयर बाई ब्रोडकम, क्यानोनिकल, कोलिब्रा, ल्याङचेन, माइक्रोसफ्ट, इपाम, ग्लिन, फिग्मा, क्यामुन्डा, जेनप्याक्ट, जेटब्रेन, डकर, क्लिकहाउस, सर्भिसनाउ, इलास्टिक र मङ्गोडीबी लगायतका कम्पनी सम्मेलनका साझेदार तथा प्रदर्शकका रूपमा रहेका छन्।
यी कम्पनीका स्टलमा सहभागीले प्रविधिबारे प्रत्यक्ष जानकारी लिन, प्रदर्शन हेर्न र सम्बन्धित प्रतिनिधिसँग संवाद गर्न पाइरहेका छन्।

एआई अब प्रयोगशालामा मात्रै छैन

प्रदर्शनीमा देखाइएका प्रविधिले एउटा महत्वपूर्ण परिवर्तनतर्फ संकेत गर्छन्—कृत्रिम बुद्धिमत्ता अब अनुसन्धान प्रयोगशालामा सीमित विषय मात्र रहेन।

व्यवसायको कामलाई छिटो बनाउनेदेखि कर्मचारीका दैनिक कार्यमा सहयोग गर्ने, तथ्याङ्क विश्लेषणदेखि स्वचालित निर्णय प्रक्रियासम्म एआईको प्रयोग विस्तार भइरहेको छ।

माइक्रोसफ्ट, एसएपी, ग्लिन र क्यामुन्डाजस्ता कम्पनीका समाधानमा व्यवसायिक क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोगलाई विशेष प्राथमिकता दिइएको छ।

त्यस्तै, मिस्ट्रालले अत्याधुनिक एआई मोडेल तथा खुला र स्वायत्त कृत्रिम बुद्धिमत्तामा जोड दिएको छ भने ल्याङचेनले एआईमा आधारित स्वचालित सहायक प्रणाली निर्माण तथा सञ्चालनका लागि आवश्यक प्रविधि प्रस्तुत गरिरहेको छ।

स्टलमा प्रविधि, वरिपरि जिज्ञासु आँखाहरू

प्रदर्शनी क्षेत्रको सबैभन्दा रोचक पक्ष भनेको सहभागीको चहलपहल हो। कम्पनीका प्रतिनिधिले आफ्ना प्रविधिको प्रत्यक्ष प्रदर्शन गरिरहेका छन्। सहभागीहरू स्टलमा पुगेर प्रश्न सोधिरहेका छन्, उत्पादनबारे जानकारी लिइरहेका छन् र सम्भावित व्यावसायिक सहकार्यका विषयमा छलफल गरिरहेका छन्।

यस अर्थमा सम्मेलनको प्रदर्शनी कक्ष केवल उत्पादन प्रदर्शन गर्ने ठाउँ मात्र नभएर प्रविधि निर्माता, लगानीकर्ता, व्यवसायी र प्रयोगकर्ताबीच प्रत्यक्ष भेटघाट हुने साझा मञ्च बनेको छ।

स्टार्टअपका लागि पनि खुला ढोका

यस वर्ष सम्मेलनमा नयाँ कृत्रिम बुद्धिमत्ता कम्पनी र स्टार्टअपलाई समेत विशेष स्थान दिइएको छ। आयोजकका अनुसार स्टार्टअप प्रवर्द्धन कार्यक्रमलाई मुख्य प्रदर्शनी कक्षमै ल्याइएको छ। त्यहाँ नयाँ कम्पनीले आफ्ना उत्पादनको प्रत्यक्ष प्रदर्शन गर्दै सम्भावित लगानीकर्ता, ठूला व्यवसाय र साझेदारसँग सम्पर्क गर्ने अवसर पाएका छन्। ठूला कम्पनीका भव्य स्टलसँगै साना स्टार्टअपका प्रदर्शनीले पनि कक्षलाई नयाँ विचार र प्रयोगको साझा थलो बनाएको छ।

एआईको भविष्य कस्तो होला ?

यस वर्षको विश्व शिखर सम्मेलन एआईको मुख्य विषय ‘भोलिका संरक्षक स् एआईको नयाँ प्रतिमान निर्माण’ भन्ने अवधारणामा केन्द्रित छ। कृत्रिम बुद्धिमत्ताको तीव्र विकाससँगै यसको सुरक्षित, जिम्मेवार र मानव हितमा आधारित प्रयोग कसरी सुनिश्चित गर्ने भन्ने प्रश्न पनि सम्मेलनको महत्वपूर्ण विषय बनेको छ।

त्यसैले यहाँ देखाइएका प्रविधि केवल आजको एआईको तस्वीर होइनन्। यी प्रदर्शनीले आगामी दिनमा व्यवसाय, सरकार, समाज र दैनिक जीवनमा एआई कति गहिरोसँग प्रवेश गर्न सक्छ भन्ने सम्भावनाको झलकसमेत दिन्छन्।

तस्बिरमा विश्वको एआई मेला ,रंगीन स्टल, प्रविधिको प्रत्यक्ष प्रदर्शन, कम्पनीका प्रतिनिधिसँग संवाद गरिरहेका सहभागी र नयाँ उत्पादन नियालिरहेका आगन्तुक—विश्व शिखर सम्मेलन एआई २०२६ को प्रदर्शनी कक्ष अहिले कृत्रिम बुद्धिमत्ताको बदलिँदो संसारको एउटा सजीव तस्वीर बनेको छ।